रामेछाप नगरपालिकाले विद्यालयका छात्राहरुलाई निःशुल्क स्यानीटरी प्याड बाढ्यो

  • प्रकाशित मिति: बिहिबार, भाद्र १२ २०७६
  • तामाकोशी

रामेछाप । भदौ १२ गते,
रामेछापको रामेछाप नगरपालिकाले नगरमै स्यानीटरी प्याड उत्पादन गरी नगर भित्रका माध्यमिक विद्यालयका छात्राहरुलाई निःशुल्क वितरण गरेको छ । स्यानीटरी प्याड रामेछाप नगरपालिका वडा नं १ गोठगाउँमा रहेको चण्डेश्वरी माध्यामिक विद्यालय र वडा नम्बर ३ साँघुटारमा रहेको हिमगंगा उच्च माध्यामिक विद्यालयका छात्राहरुलाई वितरण गरिएको हो । केहि समय अगाडी ग्रामिण विजनेश प्रमोशन प्रा.लि रामेछापको सहजीकरणमा रामेछाप नगरपालिकाले नगरपालिका भित्रका ९ वटै वडाका महिलाहरुलाई घरेलु स्यानीटरी प्याड बनाउने तालिम दिएको थियो । तालिममा सहभागी महिलाहरुले बनाएको स्यानीटरी प्याड नगरभित्रका १३ वटा माध्यमिक विद्यालयमा अध्यनरत छात्राहरुलाई वितरण गर्ने नगरपालिकाको तयारी छ । महिनावारी भएको समयमा विद्यालयमा हुने छात्राहरुको अनुपस्थितिलाई घटाउन यो कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने रामेछाप नगरपालिकाकी उपप्रमुख सृजना खड्काले बताइन् । नगरपालिका भित्रका सवै माध्यामिक विद्यालयरुमामा क्रमश प्याड वितरण गरिने उपप्रमुख खड्काले जानकारी दिइन ।