सिन्धुलीको तिनपाटन गाउँपालिकामा सुत्केरी महिलालाई पाँच हजार रुपैयाँ प्रोत्साहन भत्ता

  • प्रकाशित मिति: बुधबार, भाद्र ४ २०७६
  • तामाकोशी

सिन्धुली । भदौ ४ गते,
सिन्धुलीको तिनपाटन गाउँपालिकाले सुत्केरी महिलालाई ५ हजार रुपैयाँ प्रोत्साहन भत्ता प्रदान गर्न थालेको छ । नेपाल सरकारले सुत्केरीलाई उपलव्ध गराउँदै आएको २ हजार ८ रुपैयाँमा गाउँपालिकाले २ हजार २ सय रुपैयाँ थपिदिएर ५ हजार रुपैयाँ प्रदान गर्न थालेको हो । गर्भावस्थाको समयमा ४ पटक सम्म (४, ६, ८ र ९ ) महिनामा स्वास्थ्य संस्थामा गई गर्भजाँच गराउने र अस्पतालमै सुत्केरी हुने महिलालाई चालु आर्थिक बर्ष (२०७६र०७७) बाट भत्ता प्रदान गर्न थालिएको गाउँपालिका उपाध्यक्ष पदममाया तामाङ्गले बताईन् । घरमा नै सुत्केरी हुँदा आमा तथा शिशुको ज्यान जोखिममा पर्ने भएकाले,अस्पतालमा नै सुत्केरी गराउन अभिप्रेरित गरी आमा तथा शिशु मृत्युदर घटाई बच्चा र आमाको पोषण,स्याहारका लागि भत्ता प्रदान गरिएको उनको भनाई छ ।
सरकारी मापदण्ड अनुसार गर्भवती तथा सुत्केरी महिलाले परीक्षणका चरणहरू पार गरेपछि सुत्केरी भत्ता दिइने गाउँपालिकाका स्वास्थ्य संयोजक राम वेचन साहले बताए । उनका अनुसार गर्भवती हुँदा गर्नुपर्ने नियमित स्वास्थ्य जाँच सूचीकृत स्वास्थ्य संस्थामा गरेको, विभिन्न खोप लगाएको, आइरन चक्की र जुकाको औषधि खाएकोे तथा बच्चा जन्मि सकेपछि पनि नियमित स्वास्थ्य जाँच गराएर ३५ दिनभित्र जन्म दर्ता गराएको हुनु पर्ने छ । उनले सुत्केरी तथा गर्भवती महिलाका लागि स्वास्थ्य चौकी जान आउन गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा समेत प्रदान गरेको बताए ।