रामेछाप, साउन २१ गते ।
विभिन्न १२ देशका ३८ जना आदिबासी जनजाति महिला अधिकारकर्मीहरु रामेछापको मन्थली कुनौरी माझी बस्तीमा आइ पुगेका छन् । निर्माण हुन लागेको सुनकोसी दोस्रो जलविद्युत परियोजना निर्माण भए पश्चात यहाँका आदीबासी जनजाति माझी समुदायमा पर्न सक्ने सम्भावित समस्या र चुनौतिहरुको बास्तविकता बुझ्न उनीहरु सोमबार मन्थली आइपुगेका हुन् ।
राज्यले विकासको नाममा आदिबासी जनजाति समुदायका पहिचानहरु विलय बनाउदै लगेको सन्दर्भमा भावी कार्ययोजना निर्माण गर्न तथा आदिबासी जनजाति माझी समुदायको बास्तविक समस्याहरु बुझ्न रामेछापको कुनौरी माझी बस्तीमा आएको आदिबासी जनजाति महिला मञ्च नेपालका उपाध्यक्ष यशोकान्ति भट्ट चन्दले जानकारी दिए ।
भुमि सम्बन्धी कार्यमुलक अनुसन्धानको क्रममा विभिन्न देशहरु थाइल्याण्ड, फिलिपिन्स, इन्डोनेसिया, भारत, सिया, म्यानमार, किर्जिस्थान, काम्बोडिया, बंगलादेश, सामोया, पाकिस्थान लगाएत अन्य देशहरुका आदिबासी जनजाति महिलाहरु उक्त कार्यक्रममा उपस्थित भएका छन् । उनीहरुले आ– आफ्नो देशको आदिबासी जनजातिहरुको पहिचान, समस्या र चुनौतिहरुको बारेमा अनुभव आदानप्रदान गरिरहेका छन् भने कार्यक्रम मंगलबार सम्म चल्ने आयोजकले जानकारी दिएका छन् ।
उक्त टोलीलाई मन्थली नगरपालिका वडा नम्बर ६ कुनौरी माझी महिला समुह र भटौली माझी महिला समुहले सोमबार भव्य स्वागत गरेका थिए ।
फोटोः युनिक विफा घिसिङ



