दोलखामा अघोषित नाकाबन्दि

  • प्रकाशित मिति: बुधबार, साउन ८ २०७६
  • तामाकोशी

दोलखा ।
लामोसाँगु जिरी सडकको लामोसाँगु चरिकोट सडक खण्ड विस्तारको काम निर्धारीत समयमा नसकिदा दोलखा र सिन्धुपाल्चोकका बासिन्दाले अघोषित नाकाबन्दिको सामना गरिरहनु परेको छ ।
५५ किलोमीटरको लामोसाँगु चरिकोट सडकको बिभिन्न ठाँउमा सडक विस्तारको क्रममा थुपारिएको माटोका कारण अहिले सडक खेत जस्तो बनेको यात्रुहरुको गुनासो छ । चरिकोटबाट विहान पाँच बजे बस चढ्ने यात्रु बेलुका ५÷६ बजेमात्र काठमाडौँ पुग्न सक्ने अवस्था रहेको यात्रुहरु बताउछन् । सडकको दुरावस्थाको कारण अहिले एक सय ३३ किलोमीटरको यात्रा तय गर्न १२ घण्टा भन्दा बढी समय लाग्ने अवस्था भएको छ, तर सम्बन्धित निकायको ध्यान भने पुग्न सकेको छैन – कानुन व्यवसायी कृष्ण वस्नेतले भन्नु भयो ।
दैनिक एक सय भन्दा बढी साना तथा ठूला सवारी साधन सञ्चालन हुने लामोसाँगु चरिकोट सडकमा अहिले डोजरले तानेर मुश्किलले बसहरु सञ्चालन गरिदै आएको छ । एउटा सवारी साधनलाई दश पटक भन्दा बढी डोजरले तानेर खाडीचौरसम्म पु¥याउनु पर्ने यात्रुहरुको भनाई छ ।
लामोसाँगु चरिकोट सडक विस्तार कार्यक्रम अन्र्तगत लामोसाँगु मूडे २५ किलोमीटर सडक विस्तार र मूडे चरिकोट ३० किलोमीटर सडक विस्तारको कामको सम्झौता २०७२ भदौमा भएको थियो । दुबै कामको सम्पन्न अवधि दुई बर्षको थियो । तर सम्पन्न अवधि सकिएर एक बर्ष नाघिसक्दा समेत दुबै कामको प्रगति ७० प्रतिशत पनि हुन नसकेपछि सडक डिभिजन कार्यालय चरिकोटले हर्जाना लगाएको थियो । दैनिक हजर्ना लगाउदा समेत उल्लेख्य काम हुन नसकेको सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख एवं सडक विस्तार आयोजनाका आयोजना प्रमुख धमेन्द्र कुमार झा बताउनु हुन्छ ।
लामोसाँगु मूडे सडक खण्ड अन्र्तगत चेनेज ० किमी देखि २५ किमीसम्म लामोसाँगु मूडे सडक खण्डको काम गरिरहेको सिमाञ्चल, गौरी पार्वती, सुनौलो खिम्ति जेभीले अहिले दैनिक झण्डै तीन लाखको दरले हर्जाना तिरीरहेको र चेनेज २५ किमी देखी ५५ किमीसम्म मूडे चरिकोट सडक खण्डको काम गरिरहेको शकिल हेदर, शङ्करमाली, सुनौला खिम्ति जेभीले अहिले दैनिक झण्डै चार लाखको दरले हर्जाना तिरीरहेको आयोजना प्रमुख धमेन्द्र कुमार झाले बताउनु भयो ।