डिएसपी कुमोद ढुंगेलको खातामा ३ करोड पैसा: अख्तियारले पत्र काटेपछि फरार

  • प्रकाशित मिति: सोमबार, साउन ६ २०७६
  • तामाकोशी

काठमाडौं । कुनै समय गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ इन्काउन्टरपछि चर्चामा थिए– प्रहरी नायब उपरिक्षक डिएसपी कुमोद ढुङ्गेल । तर यतिबेला उनै डिएसपी ढुङ्गेल ठूला डाँका, र गुण्डा नाइकेसँग ‘लसपस’का कारण विवादीत मात्रै छैनन् तालुकदार निकायले उनलाई निलम्बन नै गरिसकेको छ ।

ईलाका प्रहरी कार्यालय चन्द्रानिगाहापुर (रौतहट)मा कार्यरत रहँदा डिएसपी ढुङ्गेलले डकैत मुद्दामा समलग्न व्यक्तिसँग फोन सम्पर्क गरेको देखिएको थियो । त्यतिमात्रै होइन डिएसपी ढुङ्गेलको खातामा ३ करोड भन्दा माथि रकम देखिएपछि छानबीन गर्ने निकाय नै अचम्ममा परेको छ । डकैत मुद्दामा पक्राउ परेका विक्रम श्रेष्ठ, गुण्डा नाइके समिरमान बस्नेत लगायतका गुण्डा नाइकेहरुसँग डिएसपी ढुङ्गेलको व्यापारिक साझेदार खुलेपछि उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ असार २८ गते प्रहरी प्रधान कार्यालयलाई पत्र काटेको थियो ।



प्रहरी प्रधान कार्यालयले अख्तियारको पत्रलाई उल्लेख गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको छ ।

‘ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुर, रौतहटमा केहि समय अगाडिसम्म कार्यरत प्र.ना.उ कुमोध ढुंगेलसँग केही कुरा बुझ्न अति आवश्यक भएको हुदाँ अतिशिघ्र आयोगको कोठा नं. ४०३ मा सम्पर्क गर्न पठाई दिन हुन अनुरोध गरिएकोमा हालसम्म निज उपस्थित नहुनु भएकोले खोजतलास गरी तुरुन्त उपस्थित गराई दिनहुन भनी प्रहरी प्रधान कार्यालय प्र.म.नि.को सचिवालयको आदेश न.६८४७ मिति २०७६/०३/२९ गतेको पर्चा साथ सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको च.न. २७४० मिति २०७६/०३/२८ गतेको पत्र प्राप्त हुन आएको हुँदा निजलाई अतिशिघ्र खोजतलास गरी सम्मानित आयोगको कोठा नं. ४०३ मा उपस्थित गराउन हुन निर्देशाअनुसार अनुरोध गरिएको छ,’ प्रहरी परिसर काठमाडौंलाई हेडक्वार्टरले काटेको पत्रमा भनिएको छ ।