दोलखा । असार १४ गते,
दोलखा जिल्लाको मेलुङ गाउँपालिकाको पवटि, वैत्यश्वर गाउँपालिकाको काब्रेलगायत क्षेत्रमा लगाइएको मकैबालीमा फौजी किराको प्रकोप देखिएको छ । झण्डै एक सातादेखि सुरु भएको संक्रमणले अहिले प्रकोपको रुप लिएको र दिनप्रतिदिन फैलिरहेको पहाडी बाली अनुसन्धान कार्यक्रम काब्रे दोलखाले जनाएको छ । मकैबालीमा किराको संक्रमण फैलिएको जानकारी पाएपछि पहाडी बाली अनुसन्धान कार्यक्रमका संयोजक नारायण बहादुर धामी, वैज्ञानिक सुक बहादुर गुरुङ र प्राविधिक अधिकृत मनोज कँडेलको टोलीले गएको असार १० गते दोलखाको पवटि र काब्रे क्षेत्रमा स्थलगत सर्वेक्षण गरेको थियो । 
सर्वेक्षणका क्रममा फेला परेको किरा अमेरिकी महादेशमा उत्पत्ति भएको फौजी किरा रहेको किट विज्ञान महाशाखा खुमलटारले प्रमाणित गरेको छ । अमेरिकी फौजी किरा मकैबालीमा लाग्ने पुतली समूह अन्तर्गत पर्ने रातमा सक्रिय हुने किरा हो । उपयुक्त खाना तथा बासस्थानको खोजीमा फौजी किराको वयस्क पुतली सय किलोमिटर टाढासम्म उडेर जान सक्ने भएकोले यसको समयमै नियन्त्रण गर्न नसके यसले धेरै क्षति र्पुयाउने पहाडी बाली अनुसन्धान कार्यक्रम काव्रे दोलखाका कार्यक्रम संयोजक नारायण बहादुर धामीले जानकारी दिए । यो किराको प्रजातिले धानचमरा नपलाएको कलिलो मकैलाई नष्ट गर्छ ।
मकैको पात, गुभो, जुँगा तथा घोगामा समेत क्षति र्पुयाउँछ । संक्रमण फैलन नदिन तथा क्षतिबाट बच्नको लागि क्लोरानट्रानिलिप्रोल १८ दशमलव ५ प्रतिशतको झोल ० दशमलव ४ मिलिलिटर एक लिटर पानीमा मिसाएर गुबोमा पर्ने गरी छर्नुपर्दछ । त्यसैगरि स्पाइनोस्याड ४५ प्रतिशतको शून्य दशमलव ३ मिलिलिटर झोल एक लिटर पानीमा मिसाएर गुबोमा पर्नेगरी छर्नुपदर्छ । यी दुवै प्रकारका विषादी आलोपालो गरी छर्न र घोगा लागिसकेपछि विषादी प्रयोग नगर्न पहाडी बाली अनुसन्धान कार्यक्रमका वैज्ञानिक सुक बहादुर गुरुङको सुझाव छ । अमेरिकी फौजी किराको प्रकोप देखिएको स्थानका किसानले क्लोरानट्रानिलिप्रोल र स्पाइनोस्याड विषादी प्रयोग गर्न अथवा नजिकैको कृषि कार्यालयमा खबर गर्न पहाडी बाली अनुसन्धान कार्यक्रमले किसानलाई सुझाव दिएको छ ।
दोलखामा मकैबालीमा फौजी किराको प्रकोप
- प्रकाशित मिति: शनिबार, असार १४ २०७६
- तामाकोशी