रामेछापमा १७ महिनाको अवधीमा १६ हजार ७ सयले स्वास्थ्य विमा गरे

  • प्रकाशित मिति: शनिबार, जेष्ठ ३२ २०७६
  • तामाकोशी

रामेछाप । जेठ ३२ गते,
रामेछाप जिल्लामा नेपाल सरकारको स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नेपाल सरकारको कार्यक्रम अनुसार जिल्लामा हाल सम्म झण्डै ३ हजार ९ सय ९८ परिवारले स्वास्थ्य विमा गराएका छन् । आर्थिक अवस्था कमजोर भएका नागरिकलाई स्वास्थ्यको मूल प्रवाहमा ल्याउने उद्देश्यले सरकारले सामाजिक स्वाथ्य विकास समिति मार्फत ल्याएको स्वास्थ्य बिमा कार्यक्रममा रामेछापका सर्वसाधारणहरुको सहभागिता बढ्दै गएको छ । कार्यक्रम सुरु भएको १७ महिनामा जिल्लाका ३ हजार ९ सय ९८ परिवारका १६ हजार ७ सय ३५ जना नागरिकले स्वास्थ्य विमा गराएका छन् ।
जसमा ८ हजार ९ सय ६१ पुरुष र ८ हजार ७ सय ७४ जना महिला रहेको मन्थली नगरपालिका स्वास्थ्य शाखाका प्रमुख केशवराज फुयालले जानकारी दिए । फुयालका अनुसार जिल्लामा सवैभन्दा धेरै मन्थली नगरपालिकाका नागरिकहरुले स्वास्थ्य विमा गराएका छन् । उनका अनुसार मन्थली नगपालिकाका १२ सय ४२ घर परिवारका ५ हजार २ सय ६८ जनाले स्वास्थ्य विमा गराएका छन् भने रामेछाप नगरपालिकाका २ सय ६२ घरपरिवारका ११ सय २७ जनाले मात्रै स्वास्थ्य विमा गराएका छन् ।
त्यसैगरी लिखु तामाकोशी गाउँपलिकाका २ सय ८३ घरपरिवारका ११ सय ३२ ,गोकुलगंगा गाउँपालिकाका ४ सय ३० घरपरिवारका , १७ सय ८५ , उमाकुण्ड गाउँपालिकाका ४ सय १२ घरपरिवारका १६ सय २० जना नागरिकले आफ्नो स्वास्थ्य विमा गराएका छन् । त्यस्तै खाँडादेवी गाउँपालिकाका ३ सय १३ घरपरिवारका १२ सय ५० ,दोरम्वा गाउँपालिकाका ४ सय ८३ घरपरिवारका २१ सय ३० र सुनापति गाउँपालिकाका ५ सय ७३ घरपरिवारका २४ सय २३ जनाले स्वास्थ्य विमा गगराएका छन् ।
स्वास्थ्य विमा गराएका नागरिकहरुले जिल्ला अस्पताल रामेछाप,मन्थली ,गेलु र खिम्ति प्राथमीक स्वास्थ्य केन्द्र ,जिल्ला आँखा केन्द्र,तामाकोशी सहकारी अस्पताल मन्थली ,जिल्ला अस्पताल दोलखा र धुलिखेल अस्पतालबाट स्वास्थ्य सेवा लिन सक्नेछन् । स्वास्थ्य विमामा आवद्ध हुनको लागी ५ जनासम्म सदस्य रहेको परिवारले २ हजार ५ सय र ५ जनाभन्दा माथिको संख्या भएमा ४ सय २५ रुपैयाँ थप शुल्क तिर्नुपर्नेछ । रामेछापमा २०७४ सालको पौष अन्तिम साताबाट स्वास्थ्य विमा कार्यक्रम सुरु गरिएको थियो ।