गर्मीले मन्थलीको जनजीवन कष्टकर , अस्पतालहरुमा बिरामी बढे

  • प्रकाशित मिति: शनिबार, जेष्ठ ३२ २०७६
  • तामाकोशी

रामेछाप । जेठ ३२ गते,
केहिदिन यता अत्याधिक मात्रामा वढेको गर्मीले रामेछाप सदरमुकाम मन्थली वजार र आसपासको जनजीवन कष्टकर बन्दै गएको छ । केहि समय अगाडी सम्म दैनिक जसो बर्षा भैरहेको मन्थलीमा एकाएक तापक्रम बढेपछि जनजीवन कष्टकर बन्दै गएको हो । अहिले मन्थलीको तापक्रम दिनहुँ जसो वढेर ३४ देखि ४५ डिग्रि सेल्सीयस सम्म पुग्ने गरेको छ । गत वर्षको तुलनामा यस वर्ष वढेको गर्मीको कारण मुख्य वजार झनै प्रभावित वनेको छ । बढ्दो तापक्रमले सर्वसाधारणहरुको जीवनस्तर कष्टकर वनेको पत्रकार महासंघ रामेछापका अध्यक्ष एवं बजार बासी रमेश ढुंगेलले बताए । एक्कासी वढेको गर्मीले मन्थली बासीले रातभर निदाउँनसम्म नसकेको उनको भनाई छ । अत्याधिक बढेको गर्मी र त्यसमाथी बजारनै नदेख्नेगरी उड्ने धुलोका कारण मन्थली बजारबासीहरुको जनजीवन थप कष्टकर बन्दै गएको छ ।
गर्मी बढेसंगै मन्थलीमा संचालित अस्पतालमा दिनहुँजसो उपचार गराउन आउने विरामीहरुको संख्यामा एकाएक वृद्धि भएको तामाकोसी सहकारी अस्पतालका डाक्टर सज्जन केसीले बताए । अहिले गर्मी र धुलोका कारण विभिन्न समस्या भएर दैनिक ३० देखी ४० जनाको संख्यामा उपचार गराउन विरामीहरु अस्पताल आउँने गरेको बताए । केहिदिनदेखी अत्याधिक मात्रामा बढेको गर्मीका कारण छाला सम्बन्धी समस्या ,झाडा पखलाको समस्या र ज्वोरोका विरामीहरु बढेको डाक्टर केसीको भनाई छ । उनले मन्थलीमा गर्मी संगै अत्याधिक मात्रामा उड्ने धुलोका कारण पश्वासप्रश्वास , ज्वरो , दम , रुघाखोकी , टाइफाइड आदिका बिरामीहरुको संङख्यामा पनि वृद्धि भएको बताए ।