डडेल्धुरा अस्पताल तनावग्रस्त ! अस्पतालको चरम लापरबाही ! सुत्केरीको मृत्यु

  • प्रकाशित मिति: शनिबार, जेष्ठ ३२ २०७६
  • तामाकोशी

३२ जेठ, डडेल्धुरा । चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै डडेल्धुरा अस्पतालमा तिनका आफन्तले प्रदर्शन गरेका छन् । जिल्लाको अमरगढी नगरपालिका–६ का धर्मराज ताम्राकारकी श्रीमती २६ वर्षीया गीता ताम्राकारको मृत्यु अस्पतालको लापरबाहीबाट भएको भन्दै आफन्तले अस्पतालमा प्रदर्शन गरेका हुन् ।

‘ब्लिडिङ’ नरोकिएपछि गीतालाई शुक्रबार परिवारले अस्पताल भर्ना गरेका थिए । तर, उनलाई अस्पतालले बचाउन सकेन । बरु हेलिकप्टरको व्यवस्था गरेर रेफर गरिदियो । जसमा अस्पतालको चरम लापरबाही रहेको आफन्तको दाबी छ । अप्रेसनमै लापरबाही गरेको र समस्या बल्झिँदै जाँदा पनि रेफर नगरेर त्यही राखेको आरोप परिवारको छ ।



तर, अस्पतालले भने आफन्तको दाबी गलत भएको बताएको छ । गीतालाई ८ पउण्ड रगत दिएर रेफर गरिसकेको अवस्थामा उनको ज्यान गएकाले अस्पतालको अस्पतालको लापरवाही भन्नु जायज नभएको अस्पताल प्रशासनको दाबी छ ।

अस्पतालले आफ्नो बचाउ गरे पनि आफन्तले दोषी चिकित्सकमाथि कारबाही, शिशुको जीवनरक्षा र उचित क्षतिपूर्तिको माग राखेर आन्दोलन गरेका छन् ।

आक्रोसित आफन्तले अस्पताल परिसरमा ढुंगामुढासमेत गरेका छन् । पीडित पक्ष आक्रोसमा आएपछि केहीबेर प्रहरीसँग झडपसमेत भएको थियो । ढुंगामुढाबाट अस्पतालमा आंशिक क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले घटनाबारे छानबिन गरेर दोषीमाथि कारवाही गर्ने सहमति दुई पक्षबीच बनेको बताए । यो समाचा आशिस मल्लले अनलाइन खबरमा लेखिएको छ ।