रामेछाप । जेठ २६ गते,
रामेछापको खाँडादेवी गाउँपालिका—ं ६ माकादुमको प्रसुती केन्द्र भवनको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाको केन्द्र समेत रहेको माकादुममा प्रसुती सेवा नहुँदा स्थानीय सरकारको आलोचना हुने गरेको थियो । 
माकादुममा निर्माण भई रहेको प्रसुती केन्द्रको भवन अमेरिकियर्सको आर्थिक सहयोग तथा सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारको सहजिकरण तथा गाउँपालिकासँगको साझेदारीमा निर्माण हुन लागेको हो । २ कोठे सो पक्कि भवन निर्माणको लागि अमेरिकियर्सले १८ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । गाउँपालिकाले उपभोक्ता समिति गठन गरि निर्माणकार्य अघि बढाएको सो भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको उपभोक्ता समितिका अध्यक्ष प्रकाश बुढाथोकीले जानकारी दिए । यहि असार १५ भित्र निर्माणकार्य सम्पन्न गरिने उनले बताए ।
भवन निर्माणको काम सम्पन्न हुने बित्तिकै २४ घण्टे प्रसुती सेवा सञ्चालनमा ल्याइने वडाअध्यक्ष पुष्कर कार्कीले जानकारी दिए । शनिबार भवनको अनुगमनको लागि गएको जिल्ला अस्पताल रामेछापका अध्यक्ष रोशन पाख्रिन सहितका प्राविधिक टोलीले भवन निर्माणको काम गुणस्तरीय भएको भन्दै छिटो काम सकि सेवा सञ्चालनमा ल्याउन आग्रह गर्यो । 
अनुगमनमा अमेरिकियर्सका प्रतिनिधि, सामुदायीक जनशक्ति विकास कार्यक्रमका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो । भवनको निर्माण सकिएपछि गाउँपालिकालाई एम्बुलेन्स समेत प्रदान गर्ने कार्यक्रम रहेको मातृ शिशु स्वास्थ्य सुधार परियोजना ( इमान ) का कार्यक्रम संयोजक विन्देश्वर मगरले जानकारी दिए ।
खाँडादेवी गाउँपालिकाको माकादुममा निर्माणाधिन प्रसुती केन्द्र भवनको निर्माण कार्य अन्तिम चरणमा
- प्रकाशित मिति: आइतबार, जेष्ठ २६ २०७६
- तामाकोशी