रामेछाप, जेष्ठ १५ गते ।
गणतन्त्र दिवसको अवसरमा जिल्ला कारागार कार्यालय रामेछापमा रहेका ८ जना कैदीले भुक्तान हुन बाँकी कैदको सजाय माफी पाएका छन् । आममाफी पाउनेहरु अधिकांश सवारी दयान मुद्धामा कारागार चलान भएका र आधी कैद भुक्तान अवधि सामना गरिसकेकाहरु हुन् ।

सवारी दयान मुद्धामा कारागार चलान भएका लुम्बिनीका मोहमद अफजत मुसलमान, रुरु गाँउपालिका गुल्मीका जितेन्द्र बहादुर चन्द, दोरम्बा गाँउपालिका लखनपुर रामेछापका पुष्कर श्रेष्ठ, लिखु तामाकोसी गाँउपालिका २ रामेछापका राजकुमार तामाङ र खाडादेवी गाँउपालिका ७ रामेछापका श्रीलाल घिसिङले आममाफी पाएका छन् । यस्तै कर्तव्य ज्यान मुद्धामा कारागार चलान भएका ओखलुढुङ्गा लिखु गाँउपालिका ३ का पोष्ट बहादुर जोगी र दोलखा भिमेश्वर नगरपालिका १० का प्रमिला विश्वकर्माले पनि आममाफी पाएका छन् । आममाफी पाउनेमा ज्यान मार्ने मुद्धामा कारागार चलान भएका मोरङका कविराज चेम्जोङ पनि छन् । जिल्ला कारागार कार्यालय रामेछापको सुचना अधिकारी सुमित कुमार चौधरीका अनुसार संघिय मन्त्रिपरिषद्को सिफारिसमा कैदीहरुलाई माफी दिइएको हो ।
नेपालमा हरेक वर्ष गणतन्त्र दिवसको अबसरमा असल चालचलन भई कैद सजाय छोट्याउन योग्य र उपयुक्त देखिएकालाई नेपालको संविधानमा अनुसार माफी दिने गरिएको सुचना अधिकारी चौधरीले जानकारी दिए ।