काठमाडौं,बैशाख २२ गते । लाजको सिमा कति ? राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चार स्वकीय कर्मचारीको सूचीमा आफ्नै नाम राखेर ऐनविपरीत सुविधा लिँदै आएका छन्। तिमिल्सिनाले दुई सवारीचालक र दुई कार्यालय सहयोगीको ठाउँमा आफ्नै नाम उल्लेख गरेर तलब सुविधा बुझ्ने गरेको खुलेको हो। जब कि उनले संसद् सचिवालयबाट बेग्लै चालक प्रयोग गरिरहेको नयाँ पत्रिकामा खबर छ ।
‘अध्यक्षज्यूको गाडी अधिकांश समय संसद् सचिवालयकै चालक सलामसिंह लामाले चलाउँछन्। अध्यक्षकै सेवाका लागि भनेर लामालाई तोकिएको छ। तर, सचिवालयबाट हरेक महिना निजी सवारीचालक शीर्षकमा अध्यक्षकै खातामा रकम गइरहेको छ,’ संघीय संसद् सचिवालय स्रोतले भन्यो, ‘अध्यक्षज्यूले चारैजनाको पारिश्रमिक आफ्नै खातामा राखिदिन भनेकाले त्यसै गरेका हौँ। पुसदेखि चैतसम्मको उनीहरूको पारिश्रमिक पनि उहाँकै खातामा जम्मा भएको छ।’
नयाँ पत्रिकालाई प्राप्त प्रमाणअनुसार तिमिल्सिनाले प्रतिचालक मासिक १८ हजार तीन सय ४० र प्रतिकार्यालय सहयोगी १६ हजार दुई सय ३० रुपैयाँ तलब बुझिरहेका छन्। चारजनाको कुल तलब मासिक ६९ हजार एक सय ४० रुपैयाँ हुन्छ।
संसद् सचिवालयले गत पुसदेखि सांसद तथा पदाधिकारीका स्वकीय सचिवालयका कर्मचारीको तलब सम्बन्धितकै खातामा जम्मा गर्ने व्यवस्था गरेको थियो। ऐनअनुसार संघीय संसद्का सभामुख र अध्यक्षको स्वकीय सचिवालयमा सात कर्मचारीको सुविधा हुन्छ। अध्यक्ष तिमिल्सिनाका प्रमुख स्वकीय सचिव गोविन्द अकेला, स्वकीय सचिवद्वय मनबहादुर क्षेत्री र कृष्णमणि बराल तथा कम्प्युटर अधिकृत उदय तिमिल्सिनाको व्यक्तिगत बैंक खाता नम्बर सचिवालयलाई प्राप्त छ। तर, दुई हलुका सवारीचालक र दुई कार्यालय सहयोगीको नाममा भने ‘गणेशप्रसाद तिमिल्सिना’ नै उल्लेख छ।
संसद् सचिवालयस्थित सवारीसाधन व्यवस्थापन शाखा प्रमुख कान्छा दुलाल भने अध्यक्षले सचिवालयको चालक प्रयोग नगरेको बताउँछन्। अध्यक्षको निजी चालक लापसाङ तामाङ भएको उनको दाबी छ। ‘अध्यक्षको गाडी चलाउन सचिवालयको चालक छुट्याएको छैन,’ दुलालले भने। तर, बुधबार उनले दाबी गर्दै गर्दा शाखामा आइपुगेका सचिवालयका चालक सलामसिंह लामाले दुलालको दाबीलाई झुट पुष्टि गरिदिए। दुलालले कहाँ गएर आउनुभयो भनेर सोधेको प्रश्नमा सलामसिंहले जवाफ फर्काए, ‘राष्ट्रपतिको विदेश सवारी थियो, अध्यक्षज्यूलाई एयरपोर्ट पुर्याएर आएँ।’ नियमअनुसार सचिवालयकै सवारी प्रयोग गरे निजी सवारीचालक शीर्षकमा रकम बुझ्नै मिल्दैन।