साहित्यिक रचना बाचन गरेर मनाए रामेछापमा श्रमिक दिवस

  • प्रकाशित मिति: बुधबार, बैशाख १८ २०७६
  • तामाकोशी

रामेछाप । बैशाख १८ गते ।
‘संसारको मजदुर एक हौं’ भन्ने मुल नारा सहित देशभर विभिन्न कार्यक्रमको आयोजना गरी श्रमिक दिवस मनाउने क्रममा रामेछापमा भने फरक धारबाट कार्यक्रमको आयोजना भयो । श्रमिकहरु आफ्नो श्रमको मुल्य नारा, व्यानर प्रदर्शन, प्लेकार्ड प्रदर्शन, कोणसभा, भाषण आदि जस्ता कार्यक्रमहरु गरेर नभै साहित्यका बान्कीको माध्यमबाट श्रमको मुल्य खोजिरहेका थिए ।

विहान ठिक सात बजे मन्थली नगरपालिकाको सभाहलमा रामेछापका विभिन्न व्यक्ति व्यक्तित्वहरुको सहभागितामा कोहि गजलको सेरहरुबाट, कोहि कविताको टुक्काहरुबाट त कोहि भावनाका सर्गमहरुबाट आ−आफ्नो श्रमको व्यथाहरु पोखिरहेका थिए । भित्ताको व्यानरमा लेखिएको थियो “संसारको मजदुर एक हौं, अन्तर्राष्ट्रिय श्रमिक दिवस २०७६ रचना वाचन कार्यक्रम” ।



हो, मे १ तरिखका दिन श्रमिकहरुले आफ्नो हक अधिकारको नारा लगाउदै सडकमा उत्रेको दिनको सम्झनामा श्रमिक दिवस २०७६ रामेछापमा भने फरक तरिकाले सम्पन्न भयो । कार्यक्रममा कुनै नाराजुलुस, ठुला−ठुला भाषण नभै उपस्थित सबैले आ−आफ्नो रचना मार्फद श्रमको मुल्य खोजिरहेका थिए । कार्यक्रमका प्रमुख अतिथि एवं इतिहासविद प्राज्ञा डा. दिनेशराज पन्तले उक्त कार्यक्रमको खुलेर प्रसंशा गरे । भाषण गरेर भन्दा साहित्यिक रचनाहरुको माध्यमबाट यस्ता कार्यक्रमहरुको प्रभाव धेरै हुने उनले बताए ।

कार्यक्रममा नेकपा नेता आनन्द श्रेष्ठ, कवि रामचन्द्र वियोगी, जिल्ला प्रशासन कार्यालय रामेछापका नायव सुब्बा लक्षमण भुजेल लगाएतले फरक धारको कार्यक्रमको प्रसंशा गरे । कार्यक्रममा रामेछापका साहित्यकारहरु पेशल आचार्य, धनलाल योञ्जन, उद्धव आचार्य अविचल, युनिक विफा घिसिङ, सिर्जना बस्नेत, नविन गाउले, लालबहादुर घिसिङ, कुमार यात्री, सीपी आचार्य, केशव अमोल, राजुविक्रम बस्नेत लगाएतले श्रमिकको हक अधिकार सम्बन्धी विभिन्न रचनाहरु बाचन गरेका थिए ।

मन्थली नगरपालिकाको समन्वयमा रामेछाप कला साहित्य प्रतिष्ठानले उक्त कार्यक्रमको आयोजना गरेको हो । सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारले सह− आयोजनाको रुपमा साथ दिएको उक्त कार्यक्रमको ज्योति लाइभ इन्स्योरेन्स प्रा.लि ले जिवन विमा पार्टनरको रुपमा भुमिका निभाएका थिए ।