रामेछाप ।
ईमेज लोक कलाकार सिजन–२ का उपाधि विजेता रामेछापका आरके नेपालीलाई जिल्लामा पञ्चेवाजा सहित भब्य स्वागत गरिने भएको छ। जिल्लाका युवाले यति ठुलो उपलब्धी हासिल गरेको प्रति रामेछापबासीले गौरब गर्दै जिल्लामा भव्य स्वागत गरी विजयी र्याली गर्ने तयारी गरेको हो ।
स्वागत एवं विजयी र्याली आउने बैशाख २१ गते शनिबार गरिने आयोजक रामेछाप परियार एकता समाजले जानकारी दिएको छ । विजयी र्यालीमा पञ्चेवाजा सहित बजार परिक्रम, सामुहिक खाजा सहित चियापान र जलपान रहने आयोजकले जनाएको छ । उपाधि विजेता आरके नेपाली भने कार्यक्रमको लागि रामेछाप सदरमुकाम मन्थलीमा बैशाख १८ गते बुधबारनै आउनेछ ।
राजधानी काठमाडौंमा सम्पन्न ग्राण्ड फिनालेमा आरके नेपालीले उपाधी जिते संगै रामेछापबासी निक्कै हर्षित भएका छन् । उनले उपाधी संगै डेढ लाख रुपैयाँ जितेका छन् । यस्तै पब्लिक च्वाई तर्फको अवार्ड भने शितल गुरुङले जितेका छन् ।
देशका विभिन्न स्थानमा गरिएको अडिसन राउण्डमा एक हजार बढी कलाकार सहभागी भएकोमा विभिन्न चरण पार गर्दै पछिल्लो आठ महिनाको अवधिमा फाइनल राउण्ड पार गरी टप टेन हुदै पाँच जना प्रतियोगीबाट विजेता छनौट गरिएको हो ।
विभिन्न प्रतियोगिताहरुमा अब्बल सावित गर्दै आएका कलाकार आरके नेपाली रामेछापको मन्थली नगरपालिका कुडाहारबासी हुन् । विगत दश वर्षदेखि संगितको क्षेत्रमा सक्रिय आरके नेपाली रामेछाप लोकतारा २०६६ हुदै राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल, मेगाबैंक राष्ट्रिय एकल लोक गायन प्रतियोगिता २०७५ का विजेता समेत हुन् ।

