रामेछाप । वैशाख २ गते,
रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमै सडक अस्तव्यस्त हँुदा सर्वसाधारणलाई समस्या भएको छ । मन्थलीको विभिन्न स्थानको सडक पानी पर्दा धान रोप्न ठिक्क पारेको खेत जस्तै हुन्छ भने घाम लाग्दा धुलोले मानिस नचिन्ने हुन्छ ।
मन्थलीको रणजोर खोला पुलदेखि विपिचोकसम्मको सडक विस्तार गर्ने भन्दै सडक डिभिजन कार्यालय खुर्काेटले गएको असारको पहिलो हप्ता सडक भत्काकोमा हालसम्म मर्मत गरेको छैन । असारको पहिलो साता सडक भत्काएपछि सडक डिभिजन कार्यालयले सडकको काम त्यतिकै अलपत्र छाडेको छ । सडक भत्काउँदा पुरानो नाली तथा कालोपत्रे गरिएको सडक पुरिएको छ । नाली पुरिएका कारण नालीको पानी बीच सडकबाटनै बग्छ । 
जसले गर्दा सडक पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्य हुने समस्या छ । सडकमा हिँड्दा पैदलयात्री र यातायात साधनले एक बर्षदेखी निक्कै कठीनाई भोग्दै आएका छन् । सडक आसपासका स्थानीयहरुलाई पानी पर्दा हिलो र घामलाग्दा धुलोेले बस्न र बाहिर फेर निस्कनसमेत कठिनाइ भएको छ ।
सडक भत्काएको एक बर्ष पुग्न लाग्दा पनि निर्माणको काम सुरु नगर्दा स्थानीयको जनजीवन अस्तव्यस्त भएको स्थानीयहरुको भनाई छ । विभिन्न स्थानमा भत्कीएको सडकका कारण सो क्षेत्र मात्र हैन मन्थली बजार क्षेत्रलाई नै सो बाटोले धुलाम्य र हिलाम्य पारेको छ । हिलोबाट जाने ट्याक्टर तथा अन्य यातायातका साधनले बजार क्षेत्रमा लैजाने हिलोले मन्थली बजार नै धुलाम्य बनाएको छ ।
यतिमात्रै हैन मन्थलीको ट्राफिक विट र बसपार्कको बिचमा पनि सडक भत्कदा त्यस्तै समस्या भएको छ । सडक बनाउनुपर्ने निकायले समयमै ध्यान नदिँदा आफूहरु भोगेको सर्वसाधारणहरुको गुनासो छ ।
मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेत भने बजार क्षेत्रको सडक सुधारका लागि नगरले देखेको सपना र नगरको योजना अनुसार काम हुन नसकेको बताउँछन् । बस्नेतका अनुसार सडक बनाउन सडकमा रहेका १२ वटा विद्युत पोल सार्नुपर्ने छ । तर स्थानीय जग्गा धनिले सडकमा पोल सार्न नदिएको कारण काममा समस्या भएको उनले बताए । सडक डिभिजन कार्यालय खुर्काेटले गएको भदौ १६ गतेबाटै काम थाल्ने बचन दिएपछि नगरपालिकाको अग्रसरतामा सडक भत्काइएको उनको भनाई छ । अहिले सडक डिभिजनले काम थाले पनि नगरपालिकाको योजना अनुसार सडकको काम नभएको उनको भनाई छ । नगर प्रमुख बस्नेतले सडक बनाउनका लागि स्थानीयले सहयोग नगरको बताए ।
मन्थलीको सडक पानी पर्दा हिलाम्य ,घामलाग्दा धुलाम्य, नागरिकले सहयोग नगरेको नगरप्रमुखको गुनासो
- प्रकाशित मिति: सोमबार, बैशाख २ २०७६
- तामाकोशी