काठमाडौँ, काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा रहस्यमयरुपमा दुई जनाको मृत्यु भएको छ ।काठमाडौँ महानगरपालिका–३० भीमसेनस्थानस्थित शोभादेवी मानन्धरको घरमा बस्दै आएका झापा भद्रपुर नगरपालिका– १४ का ५० वर्षीय विजय वर्मा आइतबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । काठमाडौँ शङ्करापुर नगरपालिका– ९ का ४५ वर्षीया शोभा केसीको पनि आइतबारनै रहस्यमयरुपमा मृत्यु भएको छ । आफ्नै घरमा अचेत अवस्थामा भेटिएकी केसीलाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुवै घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच काठमाडौँ महानगरपालिका– ३२ जडीबुटीस्थित गणेशमाया श्रेष्ठको घरमा चाइनिज पेस्तोल देखाइ लुटपाट गर्दै गरेको अवस्थामा तीन जनालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ कङ्लकी बस्ने धादिङ गल्छीका ३३ वर्षीय अर्जुनप्रसाद अधिकारी, २५ वर्षीय केदारप्रसाद अधिकारी र काठमाडौँ चाबहिल बस्ने काभ्रेका अञ्जन उप्रेती छन् ।श्रेष्ठको घरमा अपरिचित व्यक्ति प्रवेश गरेको सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले चाइनिज पेस्तोल एक थान, गोली एक राउण्ड, खुकुरी एक थानसहित उनीहरुलाई पक्राउ गरेको हो ।