आफ्नो बाबालाई बचाइदिन कालिकोटकी सदिक्षा खड्काले सबैसँग आग्रह गरेकी छन् । उनले दुर्घटनामा परेर अहिले अस्पतालमा उपचार गराइरहेका बाबालाई बचाइदिन सबैसँग आग्रह गरेकी हुन् । उनका बाबा नेत्र खड्काको अहिले काठमाण्डौमा उपचार भइरहेको छ ।कालिकोट कोचालझरना गाउँपालिका वडा नम्बर १ बस्ने नेत्र खड्का अहिले काठमाण्डौको बाँसबारीमा रहेको न्युरो अस्पतालमा उपचार गराईरहेका छन् । उनी विगत २३ दिनदेखि बेहोश छन् ।
गाउँमै घाँस काट्न गएको बेलामा रुखबाट खसेपछि उनी बेहोश भएका थिए । उनको टाउकोमा गम्भीर चोट लागेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । बाबाको टाउकोको एउटा सल्यक्रिया सम्पन्न भएपनि अझै उपचार बाँकी रहेको सदिक्षाले बताईन् ।
‘टाउकोको हड्डी निकालेर पेटमा राखिएको डा.हरुले बताएका छन्’ छोरी सदिक्षाले भनिन्, ‘अब थप उपचारको लागि हामीसँगै पैसा छैन ।’ नेत्र खड्काको ५ छोरी र १ छोरा छन् । पाँच छोरी मध्ये २ को विवाह भइसकेको छ । उनको जम्मा ७ बर्षको छोरा छन् ।कालिकोटबाट उपचारको लागि आएका उनका भतिजा सरोज खड्काले बाबाको उपचारको लागि आर्थिक अभाव भएको बताएका छन् । ‘अहिले सम्म ऋण खोजेर ल्याएको सबै सकियो’ उनले भने, ‘उपचार अझै बाँकी छ ।’कसैले सहयोग गरिदिएको खण्डमा आफ्नो बाबालाई बचाउन सकिने भन्दै सदिक्षा र सरोजले सबैसँग सहयोगको लागि आग्रह गरेका छन् । नेत्र कालिकोटमा कृषी पेसा गर्दै आएका थिए ।