रामेछाप, पौष १४ गते ।
रामेछापको रामेछाप नगरपालिका वडा नं २ को देउरालीमा रहेको शितलादेबी माध्यामिक विद्यालय सिरुवारीको नयाँ विद्यालय भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । विद्यालयको सभाहलमा आयोजित एक कार्यक्रमका बिच दुईपक्षीय हस्ताक्षर गर्दै जिल्ला आयोजना कार्यान्वयन इकाई रामेछाप शिक्षाका प्रमुख हेमन्त कुमार बुढाथोकीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर बुढाथोकीलाई हस्तान्तरण गरे ।
२०७२ को भूकम्पले भत्किएको सो विद्यालय स्वच्छन्द खानी निर्माण सेवा कम्पनीले कुल ९ करोड ६५ लाख २८ हजार ३ सय ६० रुपयाँ खर्च गरेर निर्माण कार्य पूरा गरेको हो । विद्यालयको ४ वटा पक्की भवन रहेका छन् भने २२ वटा कक्षाकोठाहरु रहेका छन् । २ वटा शौचालय सहित विद्युत्, खानेपानी र बगैँचाको यथोचित व्यवस्था गरेको बताइएको छ । कार्यक्रममा बोल्दै जिल्ला आयोजना कार्यान्वयन इकार्ई रामेछापका प्रमुख हेमन्त कुमार बुढाथोकीले विद्यालय निर्माण गर्ने पक्षलाई धन्यवाद ज्ञापन गर्दै विद्यालयको भौतिक निर्माणको काम सम्पन्न भएसंगै अब गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए । विद्यालय भवन आधुनिक बनेपछि विद्यालयका विद्यार्थी, शिक्षक अभिभावक भने खुसी भएका छन् ।
रामेछाप देउरालीको शितलादेबी मा.विमा निर्मित नयाँ भवन विद्यालयलाई हस्तान्तरण
- प्रकाशित मिति: शनिबार, पुष १४ २०७५
- तामाकोशी