एका बिहानै सनसनी खुलासा ! ‘लिटिल बुद्ध’को नाममा नाटकीय रुपमा बलात्कार : बमजन आश्रम हत्याहिंसा र बलत्कारको अखेडा

  • प्रकाशित मिति: शुक्रबार, पुष १३ २०७५
  • तामाकोशी

रौतहटकी १८ वर्षीया गंगामाया तामाङले भदौ ३० गते शनिबार ललितपुरस्थित सामुदायिक रेडियोको कार्यालयमा पत्रकार सम्मेलन गरिन्।उनले ‘लिटिल बुद्ध’ भनेर संसारभर चिनिएका रामबहादुर बमजनले आफूमाथि बलात्कार गरेको आरोप लगाइन्। चार वर्ष बमजनको आश्रममा बस्दा देखेका र भोगेका दुर्व्यवहारबारे बोलिन्।

गंगामाया बोलिरहँदा त्यहाँ उपस्थित बमजन पक्षधरले उनको भनाइ प्रतिवाद गर्यो। पूर्व स्वास्थ्य राज्यमन्त्री तथा बमजन निकट रहेर काम गरिरहेका मणि लामाले ‘गुरु’ बारे गंगामायाले झुटो बोलेको बताए।’गंगामायाले आश्रममा रहँदा ८ लाख चोरी गरिन्,’ लामाले उल्टै आरोप लगाउँदै भने, ‘त्यही भएर उनलाई आश्रमबाट निकालिएको हो।’ दुवै पक्षबीच वादविवाद भएपछि त्यहाँ उपस्थित धेरै सञ्चारमाध्यमले उक्त पत्रकार सम्मेलनको समाचार बनाएनन्। त्यसले राष्ट्रिय मिडियामा कुनै चर्चा पाएन। त्यसै दिन गंगामायाले जावलाखेल प्रहरी परिसरमा उजुरी दिन खोजिन्। परिसरले काठमाडौंको टेकुस्थित महानगरीय अपराध महाशाखा जान सुझायो।



रात परिसकेकाले उनी भोलिपल्ट अपराध महाशाखा पुगिन्। महाशाखा प्रमुख धीरजप्रताप सिंहले नै गंगामायालाई बालबालिका संरक्षण गर्ने एउटा संस्थाको जिम्मा लगाइदिए।सेतोपाटीले पछिल्ला तीन महिना गंगामायाले लगाएका आरोपको सत्यता, बमजनको चरित्र र उनका आश्रममा हुने क्रियाकलापबारे निरन्तर खोजी गर्यो।

हामीले तीन महिना सर्लाही, रौतहट, मकवानपुर, बारा, सिन्धुली र नुवाकोट पुगेर २५ जनासँग कुरा गरेका छौं। यी २५ मध्ये बमजनको दुर्व्यवहारबाट बच्न ज्यान जोखिममा राखेर उनको आश्रमबाट भागेका तीन जना आनी र उनीहरूका परिवारका सदस्य छन्।

बमजन आश्रममा लामो समय यौन शोषणमा परेर बाहिर निस्केकी एक आनी छिन्, जसको मानसिक अवस्था धेरै खराब छ। बमजनको दुर्व्यवहार र हिंसाका प्रत्यक्षदर्शी, कुनै समय उनकै चेला र अनुयायी भएर काम गरेका चार जना पनि छन्। त्यस्तै, विभिन्न समय बमजनको आश्रममा गएका र अहिले हराइरहेका तीन जना आनीका करिब एक दर्जन परिवारजन छन्।

हामीले भेटेर कुरा गरेकामा बमजन आश्रमबाट हराइरहेका एक जना अनुयायीका छोरा छन्। यसबीच हामीले गंगामायासँग पनि पटक-पटक गरी करिब छ घन्टा कुरा गरेका छौं।यी सबै भेटघाट र कुराकानीले तपस्वीको भेषमा बस्ने बमजन र उनको आश्रमबारे कहालीलाग्दो तस्बिर हाम्रासामु आएको छ।

उनी कुनै तपस्वी हैनन्। उनको आश्रममा ध्यान र तपस्या हुन्न। बाहिरबाट जाने मानिसलाई देखाउन मात्र उनी त्यसको नाटक गर्छन्। उनमा कुनै आध्यात्मिक ज्ञान वा चेत छैन। न त उनलाई त्यसमा कुनै चासो छ। उनी एक सामान्य युवा हुन्। र, असामान्य यौन पिपाशु। गंगामाया मात्र हैन, उनको आश्रममा रहेका कयौं आनीको यौन शोषण गरेका छन्। आफूविरुद्ध उठ्ने आवाज दबाउन उनले हिंसाको व्यापक प्रयोग गरेका छन्।

उनको आश्रममा बसेका कम्तिमा तीन जना आनी बेपत्ता छन्। परिवार र आनीहरूमाथि आश्रममा गरिएको दुर्व्यवहार देख्नेहरूको बयानका आधारमा उनीहरू बेपत्ता हुनु रहस्यमयी देखिन्छ। बमजनको निर्देशनमा एक जना अनुयायीलाई आश्रमभित्रै कुटेर हत्या गरिएको दुई जना प्रत्यक्षदर्शीले हामीलाई बताएका छन्। चार वर्षअघि बमजनको आश्रममा गएका बुबाको अझै अत्तोपत्तो नभएको उनका छोराले हामीलाई बताए। परिवारका सदस्य अहिले पनि उनलाई पर्खिएर बसेका छन्। सेतोपार्टीबाट साभार