काठमाडौं। संसदमा राजपा नेता राजेन्द्र महतोले केन्द्र सरकारको प्रहरी आफ्नो प्रदेशमा नराख्ने भनेर दिएको अभिव्यक्तिले हंगामा ल्याएको छ। उनले हिजो संसदमा बोल्ने क्रममा सरकार माथि आक्रोश पोखेका छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई भन्दा बढी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई महत्व दिएर ओलीको इन्सल्ट गरेका छन्। आफ्ना माग सम्बोधन गर्न महतोले ओलीसँग आश बाँकी नरहेको दर्शाउँदै प्रचण्डलाई गम्भीर हुन बारम्बार आग्रह गरे।
संसदमा बोल्ने क्रममा सभामुखले अरू नेतालाई समय नतोकेको तर आफूलाई बोल्नका लागि १० मिनटको समय तोकेर विभेद गरेको भन्दै सुरूमै महतो भड्किए। महतोले उपेन्द्र यादवमाथि चोटिलो व्यंग्य गरे। ‘हाम्रा एकजना साथी पनि सरकारमा गएका छन्, तर उनी खोज्दा भेटिदैनन्, कता हराएका छन्, हामीले भेट्नै पाएका छैनौ।’ महतोले उपेन्द्र यादवलाई व्यंग्य गर्दा संसद हलमा हाँसो गुञ्जियो।
महतोले जब केन्द्रका प्रहरी नस्वीकार्ने भन्दै प्रदेश २ ले आफ्नै प्रहरी संगठन बनाउने कुरा उठाए संसदमा खैलाबैला सुरू भयो।’तिम्रो पुलिस हामीले किन राख्ने? हाम्रो प्रदेश नम्बर २ ले आफ्नै प्रहरी राख्छ।’ महतोको यो भाषण हेर्नुस्ः दैनिक नेपालबाट