रामेछाप । पौष १२ गते,
रामेछापका रामेछाप नगरपालिका स्थित पुरानो सदरमुकाम रामेछाप बजारमा अनुमति नै नइलिई सामान विक्रि गरी उपभोक्तालाई ठग्नुको साथै उनीहरुको स्वास्थ्यमा समेत खेलबाड गरेको पाइएको छ । बिहिबारे हाटमा गरिएको बजार अनुगमनमा अनुमति विना सामान विक्रि गरिएको पाइएको हो ।

अनुगनका क्रममा उपभोग्य म्याद नाघेका तथा अनुमति विना बिक्रि गरिएको सुर्ती जन्य बस्तु ठूलो परिमाणमा बरामद गरिएको छ । यसैगरी तौल नपुग्ने माना पाथि र मापडण्ड विपरितका तराजु समेत जफत गरिएको छ । सो क्रममा ७० हजार भन्दा बढि मुल्य पर्ने सामाग्री जफत गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।
प्रशासन कार्यालय रामेछापका नायब सुब्बा लक्ष्मण भुजेलको नेतृत्वको घरेलु तथा साना उद्योग विकास समिति मन्थली , रामेछाप उद्योग वाणिज्य संघ र जिल्ला प्रहरी कार्यालय सम्मीलित संयुक्त बजार अनुगमन टोलीले रामेछाप बजारका हाटबजार तथा पसलहरुमा अनुगमन क्रममा विना इजाजत विक्रि गरिरहेको ५ बोरा सुर्ती, १५ पेटी

चुरोट, बिँडि ७ मुठा, मापदण्ड नपुगेका ३८ वटा माना र ४ वटा पाथि जफत गरेको हो ।
अनुगमन टोलीले उपभोग्य मिति भएको ठाउँमा टिपेक्स लगाएर बिक्रि गरिरहेको २ बोरा कस्मेटीक सामाग्री समेत जफत गरेको छ । जफत गरेको सामाग्री ७० हजार भन्दा बढि मुल्य बराबरको रहेको जिल्ला प्रशासन कार्यालय रामेछापका नायब सुब्बा लक्ष्मण भुजेलले जानकारी दिए । टोलीले बजार स्थित ग्यास तथा मासु मसलको समेत अनुगमन गरेका थिए ।
यता व्यवसायीहरुले भने प्रशासनको अनुगमन पद्दती प्रति आक्रोस व्यक्त गरेका छन् । सो क्रममा अनुगमन टोली र व्यवासयी बिच केही बेर विवाद समेत भएको थियो ।
उनीहरुले सुर्तीजन्य सामाग्री विक्रि बितरण गर्न अनुमति लिनपर्ने कुरा र माना पाथिको

प्रयोग गर्न नपाउने भन्ने बारेमा आफूहरुलाई थाहानै नभएको बताएका छन् । हाटमा पसल राखे बापत आफुहरुले नगरपालिकालाई पैसा तिरी रहेको भन्दै उनीहरुले सामान जफत गरेकोमा आक्रोस व्यक्त गरे ।
बजारमा किनमेलका लागि आएका उपभोक्ताहरुले भने बजार अनुगमन अत्यावश्यक रहेको बताएका छन् । हाटमा म्याद गुज्रीएको सामाग्री बिक्रिम भैरहेको र नाप तौलमा गाउँघरका चलन चल्तीका साना माना पाथिको प्रयोग भैरहेकाले यसलाई नियन्त्रण गर्नुपर्ने उपभोक्ताहरुको भनाई छ ।
रामेछाप नगरपालिका प्रमुख नर बहादुर थापा मगरले नगरको बजार क्षेत्रको अनुगमन अत्यावश्यक रहेको बताए । उनले विना अनुमति व्यापारीहरुले विभिन्न व्यवसाय संचालन गरिरहेकाले यसलाई राज्यले तोकेको मापडण्डमा ल्याउन पनि यस्ता अनुगमन हुनुपर्ने बताए । आगामी दिनमा जिल्ला प्रशासन संग थप समन्वय गरी बजार


अनुगमनलाई थप कडा पारिने नगर प्रमुख थापा मगरको भनाई छ ।