गत शुक्रबार पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा भएको नेपाल आइडल सिजन–२ मा विजेता घोषित भएका छन् सुदूरपश्चिमका युवा रवि ओड । उनी विजेता घोषित भएलगत्तै भक्कानिंदै रोएका थिए । उनमा विजेता बन्नुको खुसी त छँदै थियो, यति ठूलो सफलतामा पनि रुनुको मुख्य कारण थियो भारतको गुजरातमा विगत २५ वर्षदेखि चौकीदारका रूपमा कार्यरत आफ्ना बुवालाई मञ्चमा ल्याउन नसक्नु ।
‘मैले बुवालाई नेपालमा आइडलको मञ्चमा ल्याउन धेरै कोसिस गरेँ, तर सकिनँ । प्रतियोगिताको ग्रान्ड फिनाले अर्थात् अन्तिम दिन पनि ल्याउने कोसिस गरेँ तर ल्याउन सकिनँ,’ बिबिसी नेपाली सेवासँगको कुराकानीमा रविले भावुक हुँदै भने । उनलाई सफलतामा बुवाको साथ होस् भन्ने ठूलो चाहना थियो ।
उनका अनुसार बुवा राजेन्द्र ओडले चौकीदारी कामबाट कहिल्यै छुट्टी पाएनन् । बुवालाई पनि थियो होला छोराको खुसीमा साथ दिने । तर, दुवै बाबु छोराले त्यो चाहना पूरा गर्न पाएनन् । रविले उक्त प्रतियोगिताको विजेता घोषित भएपछि पहिलो फोन बुवालाई गरे र खुसी साटे ।यो लेख सौर्य दैनिकमा प्रकाशित छ ।
आफूले पाएको सफलता फोनबाट बाबुलाई सुनाए उनले । रविको जितमा धेरै नेपाली खुसी थिए उनका बुवा नहुने कुरै भएन । ’बुवाले स्याबासी दिनुभयो र उक्त उपाधिको प्रतिष्ठा जोगाउन रहेका चुनौतीबारेमा पनि सचेत पार्दै त्यसका लागि शुभकामना दिनुभयो,’ उनले भने ।
हरेक मान्छेले आफ्नो सफलता र खुसी परिवारसँग साट्न चाहन्छ । रविको पनि त्यही चाहना थियो । तर, उनले पाएनन् बुवासँगै मञ्चमा उभिएर खुसी साट्ने अवसर । गरिबी र अभाव लगायतका अनेकन संघर्र्षका बीच रवि दोस्रो नेपाल आइडल बन्न सफल भएपछि उनको मात्र होइन, उनका बुवाको दिनचर्या पनि फेरिएको छ ।
रविले हाँस्दै भने, ‘यता मैले विजेतापछि सम्मान पाइरहेको छु र उता भारतमा रहेका नेपालीले मेरो बुवालाई सम्मान गरिरहेका छन् । बुवाले मेरो सफलताका बारेमा अन्तर्वार्ता दिइरहनुभएको छ ।’कन्चनपुरमा जन्मिएका २१ वर्षीय रविले सानो छँदा नै आमा उमा देवीलाई गुमाएका थिए । गरिबीका बाबजुद उनका बुवाले उनीहरूको रेखदेख तथा लालनपालनमा कुनै कमी हुन दिएनन्, आफ्नो क्षमताले भ्याएसम्म सबै प्रकारका सुविधा दिएर हुर्काए रविलाई ।
‘भारतमै चौकीदारको काम गरेर बुवाले पठाएको पैसाले हाम्रो जीवन चलेको हो । त्यसैले, संघर्ष र दुःख अभावलाई मैले नजिकबाट नियालेको छु, भोगेको छु । मैले पाएको सफलतामा यसको पनि हात छ,’ रविले भने । तर, गीत–संगीतमा रुचि बढ्नुमा भने उनको हजुरबुवाको प्रेरणा रहेको उनले बताउने गरेका छन् ।
उनले आफ्नो हजुरबुवालाई भेट्न त पाएनन् तर गाउँका बुढापाकाले रविको आवाज हजुरबुवाको जस्तै भएको बताउँथे । ‘हजुरबुवाले राम्रो गाउने र मेरो आवाज उहाँसँग मिल्ने थाहा पाएदेखि नै मेरो संगीतप्रति रुचि बढ्दै गएको हो ।’ उनले भने । १२ कक्षासम्म पढेका रविले सातजनाको परिवारलाई सघाउन विभिन्न स्थानीय कार्यक्रम तथा महोत्सव, रोदीघर र दोहोरीसाँझमा समेत गाउन थालेका थिए । उनी देउडा गीतका अतिरिक्त पप, आधुनिक गीत गाउनसमेत पोख्त भएको बताइन्छ ।
दीपक बज्राचार्य, सुगम पोखरेल र हेमन्त राना जस्ता ख्याति प्राप्त गायकबाट विशेष प्रभावित उनको सांगीतिक यात्रामा धनगढीका दोहोरी साँझ बन्द भएपछि केही समय पूर्णविराम लागेको उनी बताउँछन् । पटकपटक कामविहीन बनेका उनले संविधान सभाको निर्वाचनताका म्यादी प्रहरीका रूपमा जागिरसमेत गरे ।
‘मैले कामको जोहो गर्दैगर्दा राम्रोसँग पढ्न पनि पाइनँ । पास हुनका लागि परीक्षाको केही अघि मात्रै पढ्थेँ । अझै १२ कक्षाको एउटा विषय पास गर्नुछ र अब पढाइमा समेत ध्यान दिन्छु,’ उनले भने । अमेरिकन आइडलको फ्रेन्चाइज लिएर नेपालमा भित्रिएको उक्त नेपाली संस्करणका अतिरिक्त भारतीय संस्करण पनि रविले नजिकबाट नियालिरहेका हुन्थे ।
नेपाल आइडलमा सहभागी भएर उपाधि नै जित्ने उनको कुनै योजना थिएन । तर, फुर्सदमै रहेको वेला साथीहरूको सुझावका आधारमा उनले केही महिनाअघि पहिलो अडिसन धनगढीमा दिए र सुरु गरे नेपाल आइडलको यात्रा ।
सुरुदेखि नै निर्णायकहरूको रोजाइमा पर्दै आएका उनले भने, ‘आफूमा केही प्रतिभा भएकै कारणले निर्णायकहरूले मलाई पछिल्ला राउन्डमा ल्याउनुभयो ।’ काममा विश्वास गर्ने उनले भने । ५० प्रतिशत दर्शकको भोट र ५० प्रतिशत निर्णायकको छनोटका आधारमा विजेता घोषित भए पनि कतिपयले उनको जितलाई दया र क्षेत्रीयताको प्रभावका रूपमा समेत आलोचना गरेका छन् ।
आफूप्रति आएको आलोचनाको प्रतिवाद गर्दै उनी भन्छन्, ‘दया, जातीय वा क्षेत्रीय कारणले जितिने भए म भोटिङ राउन्ड अर्थात् मतका आधारमा मूल्यांकन गरिने चरणमा समेत पुग्न सक्ने थिएनँ ।’ तर, ती आलोचना वा प्रतिक्रियालाई म सहज रूपमा लिन्छु । आउने दिनका लागि ऊर्जाको रूपमा लिन्छु र अघि बढ्छु ।’ उनले भने ।
नेपाल आइडलको विजेता बनेसँगै आर्थिक रूपमा पनि उनको जिन्दगी फेरिएको छ । ‘सबै तिरबाट माया र सम्मान पाएको छु । त्यसले ममा एक प्रकारको चुनौती पनि थपिदिएको छ’ उनले भने, ‘आगामी योजनाबारे भने, पहिले आयोजकसँगको सम्झौता सकाउँछु र त्यसपछि दर्शक–स्रोताको मागअनुसार मेरो सांगीतिक यात्रा अघि बढाउँछु ।’ (बिबिसीको सहयोगमा)
अन्तिम भेट आमासँग :
कैलाली- नेपाल आइडल–२ विजेता रवि ओडकी आमाको हिजो बिहान करेन्ट लागेर मृत्यु भएको थियो । बिहान करीब ७ः०० बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी ४५ वर्षीया विष्णा ओडको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको अस्पतालले जनाएको थियो ।
उनलाई बिहान पौने ९ः०० बजे अस्पताल पु¥याइएलगत्तै चिकित्सकले मृत घोषित गरेको सेती अञ्चल अस्पताल प्रमुख कृष्णबहादुर बोहराले जानकारी दिनुभयो । रविलाई जन्मदिने आमाको यसअघि नै निधन भइसकेको छ भने उनी कान्छी आमा विष्णा ओडसँग हुर्केका थिए ।
नेपाल आइडल जित्नु अघि उनी आफ्नो घर पुगेको थिए जहाँ आफ्नी आमालाई भेटेर उनी भक्कानिएका थिए । रवि ओडले अब कहिले हेर्न पाउदैनन जीवित आमाको अनुहार ।
हेर्नुहोस यो अन्तिम भिडियो :