रामेछाप । पौष ९ गते,
रामेछापमा लागु भएको सार्वजनिक यातायातको नयाँ भाडादर कार्यान्वयनमा जिल्ला प्रशासन कडाइका साथ लागेको छ । नयाँ भाडादर लागु भएपनि अटेर गरी पुरानै भाडादर अनुसार यात्रुहरुसंग पैसा लिइरहेको गुनासो आएपछि प्रशासन कडाइका साथ कार्यान्वयनमा उत्रिएको हो । प्रशासनले सोमबारर यातायात व्यवस्थापन समिति रामेछापले निर्धारण गरेको भाडादर भन्दा बढी भाडा लिने एक बसलाई नियन्त्रणमा लिएर भाडा फिर्ता गरेको छ ।

प्रशासनले बा १ ज ९९०१ नम्बरको बसले यात्रुसंग बढि लिएको पाइएपछि १ हजार ५ सय जरिवाना गरी बढी लिएको भाडा सम्बन्धित यात्रुलाई फिर्ता गरेको छ । यातायात व्यवस्थापन समितिले पौष १ गतेदेखी लागु हुने गरी रामेछाप जिल्लाभर नयाँ भाडादर निर्धारण गरेको थिया । २ नगरपालिका र६गाउँपालिका रहेको रामेछापमा करिब १३ सय किलोमिटर सडक निर्माण गरिएको छ । जस अन्तर्गत अधिकाशं सडकमा अहिले यातायात सञ्चालन हुँदै आएको छ । यी सडक भएर संचालन हुने सार्वजनिक यातायातका साधनले सर्वसाधारणसंग मनलाग्दी भाडा असुलेको गुनासोहरु आउने गरेको छ ।