निर्मला पन्तका हत्यारा पत्ता लाग्यो भनेर सरकारले नाटक गरेको एक अर्को तथ्य खुलासा : दबाब रोक्ने सरकारको असफल प्रयास

  • प्रकाशित मिति: शनिबार, पुष ७ २०७५
  • तामाकोशी

काठमाडौं । निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले पछिल्लो पटक पक्राउ परेका कञ्चनपुरका किशोर विशाल चौधरी छुटेसँगै यो प्रकरण थप रहस्यमय बन्दै गएको छ । आशंकाको आधारमा पक्राउ परेका चौधरी नै दोषी रहेको भन्दै सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले राजधानी काठमाडौंमा गत हप्ता आयोजित एक कार्यक्रममा गरेको खुलासा हावा सावित भएको छ ।

सार्वजनिक कार्यक्रममा उपप्रधानमन्त्री पोखरले निर्मला प्रकरणका दोषी पक्राउ परिसकेको र छिटै सार्वजनिक गर्ने बताएका थिए । सरकारको महत्वपूर्ण जिम्मेवारीमा रहेका व्यक्तिले यसरी दोषी पक्राउ परेको भनेपछि विश्वास पनि गरिएको थियो । तर, शुक्रबार साँझ चौधरी छुटेसँगै मन्त्रिहरुको बोलीको कुनै ठेगान नहुने भन्ने देखिएको छ । गएको मंसिरमा सरकारको नियमित पत्रकार सम्मेलनमा पनि सरकारका प्रवक्ताले निर्मला प्रकरणका दोषी पक्राउ परेको संकेत गरेका थिए ।



यतिमात्र होइन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पनि दोषी पत्ता लगाएको बताएका थिए । जतिबेला प्रहरी प्रधान कार्यालयबाट निर्मला प्रकरणका दोषी पक्राउ परेको सूचना चुहाइयो त्यतिबेला निर्मलालाई न्याय भन्दै देशभर पोस्टर टाँस्नेक्रम बढेको थियो । राजधानी काठमाडौंलगायत देशभर ‘सरकार भेटियो न्याय भेटिएन’ लेखिएको निर्मला पन्तको तस्वीरसहितको पोस्टर टाँसिएपछि सरकारले त्यस्तो अभियान मत्थर पार्न नियोजित रुपमा आशंकाका भरमा पक्राउ परेका किशोरलाई दोषी भनेर प्रचार गरिएको खुल्न आएको छ ।

शनिबार चौधरीले कञ्चनपुरमा पत्रकारहरुसँग आफूलाई डरत्रास देखाएको बताएका छन् । डरत्रास देखाइएपछि आफुले आरोप स्वीकार गरेको उनको भनाई छ । चौधरीको यस्तो खुलासाले पनि देखाउँछ त्यति बेला सरकारमाथि परेको दबाबलाई थेग्न नै दोषी पक्राउ परेको झ्यालि पिटाइएको हो ।

शुक्रबार रिहा भएपछि शनिबार महेन्द्रनगर पुगेका चौधरीले प्रहरीले आफुलाई मानसिक यातना दिएको समेत बताएका छन् । चौधरीले आफुलाई प्रहरीले मार्नेसम्मको धम्की दिएको बताए । कुखुरा चोरेको आरोपमा घटना भएको दिन दिउँसै पक्राउ परेका चौधरीलाई प्रहरीले डरत्रास तथा प्रलोभन देखाएर निर्मला पन्त प्रकरणमा फसाउन खोजेकोसमेत उनका अभिभावकको भनाई छ । गएको साउन १० गते घरबाट हराएकी भीमदत्तकी १३ वर्षीया निर्मला पन्तको शव ११ गते उखुबारीमा फेला परेको थियो । चौधरीले आफुलाई प्रहरीले साउन १० गते दिउँसो १२–१ बजेतिर पक्राउ गरेको बताएका छन् । पक्राउ परेका चौधरीको डिएनए पनि परीक्षण गरिएको थियो । डिएनए परीक्षणबाट घटनामा उनको संलग्नता नखुलेपछि प्रहरीले शनिबार उनलाई रिहा गरेको हो ।