काठमाडौं । एक युवतीको यौनाङ्गको जटिल शल्यक्रिया गरिएको छ । यौनाङ्ग र पाठेघर नभएकी एक २६ वर्षीया युवतीलाई यौनाङ्ग प्रदान गरिएको हो । काठमाडौंस्थित ईशान बाल तथा महिला अस्पतालले शुक्रबार पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार आफूहरुको एक चिकित्सकीय टोलीले २६ वर्षीया एक युवतीलाई यौनाङ्ग प्रदान गरिएको हो ।
शारीरिकरुपमा महिला नै रहेपनि यौनाङ्ग र पाठेघर नै नभएकी ति युवतीको ठूलो आन्द्राको १२ सेन्टिमिटर मासु काटेर शल्यक्रिया गरेर यौनाङ्ग बनाइएको सो अस्पतालले जानकारी दिएको छ । प्रसूतिरोग विशेषज्ञ डा. आशा सिंह र बालरोल विशेषज्ञ डा. आरपी चौधरीलगायतको टिमले शल्यक्रिया गरेको सो अस्पतालले जनाएको छ ।
२३ वर्षको उमेरसम्म पनि महिनावारी नभएपछि चिकित्सकको सम्पर्कमा पुगेकी ती युवतीको तीन वर्षपछि शल्यक्रिया गरेर यौनाङ्ग प्रदान गरिएको हो । यौनाङ्ग बनाइएपनि पाठेघर नभएका कारण ति युवतीमा प्रजनन् क्षमता भने नरहने चिकित्सकहरुले जानकारी दिएका छन् ।