रामेछापको माकादुममा स्थानीय सभा बैठक , माघ भित्र वडाका सबै घरमा बत्ति बाल्ने वडाअध्यक्षको उद्घोष

  • प्रकाशित मिति: बिहिबार, पुष ५ २०७५
  • तामाकोशी

रामेछाप । पुस ५ गते,
रामेछापको खाँडादेवी गाउँपालिका ६ माकादुमको स्थानीय सभा बैठक बिहिबार सम्पन्न भएको छ । मानवअधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखाद्वारा सञ्चालित पारस्पारिक जवाफदेहीता परियोजना अन्तर्गत सो बैठक सम्पन्न भएको हो ।
वडा कार्यालयसँगको समन्वयमा भएको बैठक वडा अध्यक्ष पुष्कर कार्कीको अध्यक्षतामा भएको थियो । बैठकमा वडा कार्यालयमा शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, विपद व्यवस्थापन लगायतका क्षेत्रमा भएका कामको समिक्षा गरिएको थियो । साथै ती क्षेत्रमा काम गर्दा आइपरेका समस्या, समस्या समाधानको लागि गरिएका पहल र त्यसमा वडा कार्यालय तथा गाउँपालिका र अन्य निकायले गर्नु पर्ने सहयोगको बारेमा समेत छलफल भएको थियो ।
बैठकमा बोल्दै वडाअध्यक्ष कार्कीले आगामी असार मसान्तभित्र वडाका सबै घरमा विद्युत पुर्याउने गरी काम अघि बढाउने अघिल्लो स्थानीय सभामा भएको प्रतिवद्धता अनुसार काम अघि बढी रहेको बताए । उनले यही माघ मसान्तभित्र वा ढिलोमा पनि चैतसम्ममा सबै घरमा बत्ति बाल्ने गरी काम अघि बढेको जानकारी दिए ।
महिलाहरुको लागि वडा स्तरीय सहकारी निर्माण गरी यसै वर्षको बजेटबाट १ लाख रुपैयाँ अनुदान छुट्याएको पनि उनले जानकारी दिए ।
उनले विद्यालयको पढाइको गुणस्तर सुधारको लागि २ वटा माविमा ३÷३ जना शिक्षकहरु थप गरेको बताए । त्यस्तै पुर्वाधार, खानेपानी, स्वास्थ्य र शिक्षाको सुधारको लागि पनि काम भई रहेको उनले बताए ।
कार्यक्रममा पशु सेवा शाखाका कुमार पाठकले यस वर्ष जै घाँस तथा गहुँको विउ वितरण गरिएको जानकारी दिए । साथै यस वर्ष ५ वटा बाख्रापान समुह र ५ वटा कुखरापान समुहलाई ५०÷५० हजार रुपैयाँ अनुदानको कार्यक्रम रहेको बताए । त्यस्तै २ वटा वंगुर पालन समुहलाई एक एक लाखका दरले अनुदानको कार्यक्रम रहेको उनले जानकारी दिए ।
स्वास्थ्य शाखा खाँडादेवीका प्रमुख चेतन घिमिरेले माकादुमको स्वास्थ्य चौकीले सरकारले उपलब्ध गराउने भनेको औषधिहरु नियमित गरेको तथा अमेरिकि केयर्ससँगको सहकार्यमा प्रसुतीगृह निर्माणको काम अघि बढाइएको जानकारी दिए ।
विद्यालय सुरक्षा अन्तर्गत यही पुस महिनामा माकादुमका २ वटा माविमा स्वास्थ्य शिविर सञ्चालन गरिने पनि उनले बताए ।
विष्णुजनज्वी माविका प्रधानाध्यापक रिपबहादुर खत्रीले स्थानीय सभाले स्थानीय स्तरमा आएका समस्या र त्यसमाथि छलफल गरि र समाधानको बाटो खोज्न सहयोग पुर्याएको बताए ।
बैठकले वडाका २ वटा माविमा पुस महिनमा स्वास्थ्य शिविर सञ्चालन गर्ने, स्वास्थ्य चौकीको प्रसुती गृह निर्माणको कामलाई छिटो सम्पन्न गरी सेवा प्रवाह गर्ने तथा स्वास्थ्य चौकीले निशुल्क उपलब्ध गराउने औषधि नियमित गरी अझ प्रभावकारी रुपमा सेवा प्रवाह गर्ने निर्णय गरेको छ ।
यस अघि सो वाडाको स्वास्थ्य, शिक्षा, कृषि तथा पशुसेवा, र विपद व्यवस्थापन विषयगत समितिको बैठकले समग्र वडाको अवस्थाको बारेमा छलफल गरेका थिए । छलफलमा विषयगत समितिलाई अझ प्रभावकारी बनाउने तथा विषयगत समितिले वडा कार्यालयलाई योजना बनाउन सहयोग हुने गरी आआप्mना विषयका सुझाव दिन निर्णय गरेको छ ।