अब महिलाले खानु पर्दैन गर्भनिरोधक चक्की : पत्ता लाग्यो पुरुषका लागि गर्भनिरोधक सुई, एकपटक लगाए एकवर्ष ढुक्क

  • प्रकाशित मिति: शुक्रबार, मंसिर २८ २०७५
  • तामाकोशी

महिलाका लागि अस्थायी गर्भनिरोधका अनेक विधि छन् । सुर्इ देखि लिएर, पिल्स अनि पाठेघर तथा पाखुरामा राख्नेसम्मका उपकरण र कण्डम पनि ।

तर पुरुषका लागि भने अस्थायी गर्भर्निरोधक साधनको रुपमा कण्डमको विकल्प अहिलेसम्म छैन । यस्तोमा पुरुषहरु आफुहरुको लागि पनि कण्डमको विकल्पका रुपमा नयाँ गर्भनिरोधक साधनको व्यग्र प्रतिक्षामा हुनु स्वभाविकै हो ।



पुरुषहरुको यहीँ प्रतिक्षाको घडी समाप्त पार्दै वैज्ञानिकहरुले पुरुषका लागि पनि महिलाको तिन महिने संगिनी सुर्इ जस्तै अस्थायी गर्भनिरोधक सुर्इको आविष्कार गरेका छन् ।

पुरुषका लागि विकशित गरिएको यो गर्भनिरोधक सुइ एक पटक लगाएपछि कण्डम नलगाइकन एक वर्षसम्म ढुक्कसँग सहवास गर्न सकिनेछ र त्यस्तो सुर्इ लगाएको पुरुषसँग एक वर्षभित्रमा सहवास गर्ने महिलामा गर्भ रहनेछैन ।

अमेरिकाको पारसेमन फाउण्डेसनका वैज्ञानिकहरुले यस्तो पुरुष गर्भनिरोधक सुर्इको आविष्कार गरेको बताइएको छ ।

शोधकर्ताहरुले खरायोमा यो सुइको परीक्षण गर्दा त्यसले सकारात्मक नतिजा दिएको र त्यस्तो सुर्इ लगाएको भाले खरायोले एक वर्षसम्म पोथीलाई गर्भिणी बनाउन नसकेको पाइएको छ ।

अमेरिकाको इलिनोइस विश्वविद्यालयका प्राध्यापक डोनाल्ड वाल्लरले खरायोमा गरिएको परीक्षणका क्रममा प्राप्त नतिजा आशा गरिएको भन्दा उत्कृष्ट रहेको बताएका छन् । खरायोमा प्रयोग भएको यो सुइलाई परिस्कृत गरि मानिसका लागि गर्भनिरोधक सुर्इको रुपमासमेत प्रयोग गर्न सकिने विश्वास शोधकर्ताहरुको छ ।


वैज्ञानिकहरुले उक्त पुरुष गर्भनिरोधक खोपलाई भेसलजेल नाम दिएका छन् ।

अब छिटै मानिसमा यसको परीक्षण शुरु गर्ने उनीहरुको भनार्इ छ ।