कञ्चनपुर– प्रध्यापक डा गोविन्द केसीले जतिसक्दो छिटो निर्मला पन्त हत्याकाण्डका दोषी सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । मंगलबार अनसनरत निर्मला पन्तको परिवारलाई धर्नास्थलमा भेटेर उनीहरुका मागप्रति ऐक्यवद्दता जनाउँदै डा.केसीले सो माग गरेका हुन् ।
डा.केसीले अहिलेको सरकार अपराधी लुकाउने र निरंकुश भएको आरोप लगाउँदै उनले निर्मला पन्तका हत्याराहरुलाई सरकारले नै संरक्षण गरेको हुनसक्ने बताए । निर्मला पन्तको हत्यारा तत्काल पत्ता लगाउन माग गर्दै १७ दिनदेखि धर्नामा बसेका उनका परिवारलाई भेट्न डा.केसी जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको गेटमा पुगेका थिए ।
उनले यो घटनाका बारेमा सरकारको आडमा प्रमाणहरु लुकाउने काम भएको दाबी गर्दै प्रमाण मेटाउन संलग्नहरुलाई समेत सरकारले केरकार गर्न नसकेको बताए । डा.केसीले ४ महिनासम्म बलात्कारी र हत्यारा सार्वजनिक गर्न नसक्नु सरकारको गम्भीर कमजोरी रहेको बताउँदै हत्याप्रकरणका दोषीलाई तत्काल सार्वजनिक गर्न माग गरे । उनले भने, ‘यो सरकारले जतिसक्दो छिटो निर्मला हत्याप्रकरणका दोषीलाई सार्वजनिक गर्नुपर्छ ।’
अनसन बसेकै बेला मानसिक सन्तुलन गुमाउन पुगेका निर्मलाका बुबा यज्ञराज अहिले राजधानीको त्रिवि शिक्षण अस्पतालम उपचाररत छन् । धर्नामा निर्मलकी कान्छि आमा लक्ष्मी पन्त लगायतका परिवारका सदस्यहरुको सहभागिता रहेको छ । निर्मलाकी आमा दुर्गदेवी समेत श्रीमानको उपचारका लागि काठमाडौंमै रहेकी छन् ।
डा. केसीले निर्मला पन्त हत्या प्रकरणका दोषीलाई तत्काल सार्वजनिक नगरे आफुले सरकारविरुद्ध सत्याग्रहमा जाने समेत चेतावनी दिए । निर्मला पन्तको गत साउन १० गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । सो हत्याप्रकरणमा संलग्न दोषीलाई सरकारले अहिलेसम्म सार्वजनिक गर्न सकेको छैन ।