काठमाडौँ, ८ मंसिर । भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाईकल चालकको ज्यान गएको दुई दिन नबित्दै बल्खुमा फेरि टिपरको ठक्करबाट माइक्रो चालकको ज्यान गएको छ।
शनिबार बिहान साढे ३ बजे बल्खुमा टिप्परले ठक्कर दिँदा माइक्रो चालकको ज्यान गएको हो। बा ४ ख ९५७५ नम्बरको टिप्परले बा १ ज ८८५५ नम्बरको माइक्रोलाई ठक्कर दिँदा घाइते भएका सिन्धुपाल्चोकका ६४ वर्षका बाबुकाजी श्रेष्ठको वयोधा अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि टिप्पर चालक फरार छन्। उनको खोजी भैरहेको प्रहरीले जनाएको छ। बिहीबार राती भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटमा टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको थियो।
ना ४ ख ८१८२ नम्बरको टिपरको ठक्करबाट घाइते भएका बा ९९प ८२८२ नम्बरको मोटरसाईक चालक २४ वर्षीय मनोज मगरलाई टिपरले व्याक गरेर मारेको प्रत्यक्षदर्शीहरुको भनाई छ।
टिपरको कारण दुर्घटना वढेपछि सरकारले काठमाडौं उपत्यकामा टिपर सञ्चालन गर्न निश्चित समय निर्धारण गरेको छ। तर, टिपरबाट हुने दुर्घटनामा भने कमी आएको छैन।