चर्चित नायिका निरुता सिंह नेपाल फ़र्किएसाथ गरिन चलचित्र दाल भात तरकारीमा साइन ,हरिवंश आचार्यको जोडीको रुपमा अभिनय गर्दै …

  • प्रकाशित मिति: बिहिबार, कार्तिक २९ २०७५
  • तामाकोसी खबर

कार्तिक २९/ कुनै समयकी चर्चित नायिका निरुता सिंह नेपाल फर्किएकी छन् । भारतको मुम्बई स्थायी घर भएकी नायिका निरुता चलचित्र बुधबार राति नेपाल झरेकी हुन् ।

निरुता नेपाल आइपुग्दा उनलाई स्वागत गर्न चलचित्र निर्माता तथा हास्य कलाकार किरण केसी र उनका छोरा सुदन विमानस्थल पुगेका थिए । निरुता किरण केसीले निर्माण गर्न लागेको चलचित्र ‘दाल भात तरकारी’को छायांकनका लागि नेपाल आएकी हुन् ।



‘दाल भात तरकारी’मा नायिका सिंह हरिवंश आचार्यको जोडीको रुपमा देखिने निर्माता केसीले बताए । निरुता पनि हरिवंश र किरणसँग काम गर्न पाउँदा आफूलाई अत्यन्त खुसी लागेको बताउँछिन् । ‘मलाई त पहिला नै उहाँहरुसँग काम गर्ने सपना थियो,’ निरुता भन्छिन्, ‘त्यो सपना आज पूरा भएकामा खुसी छु ।’

चलचित्र छायांकनका लागि निरुता २ महिनासम्म नेपालमा बस्नेछिन् । त्यसपछि निरुताको मुम्बई जाने आउने क्रम जारी रहनेछ । ‘दाल भात तरकारी’को प्रचारप्रसार र प्रदर्शनक्रममा समेत नेपालमै रहने निरुता बताउँछिन् ।

मंसिर १ गतेदेखि छायांकन हुने चलचित्रलाई सुदन केसीले निर्देशन गर्दैछन् । सुदनले ‘दाल भात तरकारी’मार्फत चलचित्र निर्देशन शुरुवात गर्दैछन् । चलचित्रमा हरिवंश र निरुताका साथमा किरण केसी, राजाराम पौडेल, पुष्पल खड्का, आँचल शर्मालगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

तीन वटा गीत समावेश चलचित्रको संगीत शम्भुजीत बास्कोटाले भरेका हुन् । यसअघि निरुताले बिकास आचार्यको ‘नाइ नभन्नु ल ५’ मार्फत कमब्याक गरेकी हुन् ।