अस्पतालको चरम लापरबाही : यसरि भयो शाहको मृत्यु,सनसनी खुलासा

  • प्रकाशित मिति: मंगलबार, कार्तिक २७ २०७५
  • तामाकोसी खबर

बुटवल – गत २० साउनमा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज रानी गाउँ भैरहवा मेडिकल कलेजका विद्यार्थी २४ वर्षीय महादेव शाहको मृत्यु डाक्टरको लापरबाहीबाट भएको खुलेको छ । उपचारका क्रममा शाहको मृत्यु भएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । उक्त कलेजमा बिडिएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी महादेव शाहको मृत्युभएपछि आक्रोशित भएका विद्यार्थीले कलेजसमेत तोडफोड गरेका थिए ।घटनाबारे छानबिन गर्न जिल्ला प्रशासन कार्यालय रूपन्देहीले लुम्बिनी अञ्चल अस्पतालका मेडिसिन विभाग प्रमुख डाक्टर विष्णु पौडेलको संयोजकत्वमा चिकित्सक संघ लुम्बिनीका अध्यक्ष डाक्टर नन्दा गुरुङ, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विष्णु घर्ती, नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिनेश पाण्डे र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केहर सिंह गोदार सदस्य रहेको छानबिन समिति गठन गरेको थियो ।

छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाएको र समितिले दिएको प्रतिवेदनका आधारमा मेडिकल कलेजलाई अबका दिनमा कमजोरी सुधार गर्न निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद पाण्डेले बताए ।समितिले जिल्ला प्रशासन कार्यालयमा पेस गरेको आफ्नो प्रतिवेदनमा बिरामीको चिरफार गरिएको घाउ अत्यन्त संवेदनशील स्थानमा रहेको र त्यसले बिरामीलाई पुग्न जाने अन्य असरको बारेमा अस्पताल सजग भएको नदेखिएको उल्लेख गरिएको छ ।प्रतिवेदनमा विद्यार्थी शाहले पेट र छाती दुःखेर इमरजेन्सीमा आई चेकजाँच गराउँदा गरिएको इसिजी रिपोर्टमा मुटुमा समस्या देखिएको भए पनि निगरानीमा राख्नुपर्ने बिरामीलाई इसिजी रिपोर्टबारे ध्यानै नदिई बिरामीको आग्रह भन्दै डिस्चार्ज गरेका कारण बिरामीको मृत्यु भएको उल्लेख गरेको छ ।यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ ।



यता, पीडित परिवारले भने छानबिन समितिले प्रतिवेदन बुझाए पनि जिल्ला प्रशासन कार्यालय र मेडिकल कलेज कतैबाट पनि आफूहरूलाई सम्पर्क नगरिएको र क्षतिपूर्तिसमेत नपाएको बताएको छ । मृतक महादेवका भाइ अविनाश शाहले घटना घटेको तीन महिना बितिसक्दा पनि अस्पतालले क्षतिपूर्ति उपलब्ध नगराएको र प्रशासनबाट समेत कुनै पहल नभएको बताए ।