रामेछाप । कार्तिक २२ गते,
आफ्नै घरमा झुण्डिएको अवस्थामा सोमबार लास फेला परेकी लिखु तामाकोसी गाउँपालिका–४ बिजुलीकोटकी ४० वर्षिय झलमायाँ श्रेष्ठको पोष्टमार्टम रिपोर्ट प्रति उनका आफन्तले असन्तुष्टि जनाएका छन् । प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीले दिएको पोष्टमार्टम रिपोर्ट प्रति स्थानीयले असन्तुष्टि जनाएका हुन् । पोर्टमार्टम रिपोर्ट प्रति असहमति जनाउँदै आन्दोलनमा उत्रिएका स्थानीयले उनको लासको पुन पोष्टमार्टमको लागि बुधबार त्रीभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगेका छन् । उनको आत्माहत्या नभई हत्यानै भएको भन्दै गाउँपालिका अध्यक्ष गोविन्द खड्का, लिखुतामाकोसी गाउँपालिको वडा नं ३ र ४ का वडाअध्यक्षहरु साथै धोवी बजारवासी आन्दोलित भएका छन् । उनको हत्यामा उनका पति धननारायण श्रेष्ठ र स्थानीक गोपिनी खड्काको संलग्नता भएको भन्दै प्रहरीमा किटानी जाहेरी समेत परेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले जाहेरी परेको पुष्टि गर्दै जाहेरी भने दर्ता नभएको जनाएको छ । ‘किटानी जाहेरी आएको छ । तर हामीले जाहेरी दर्ता गरि सकेका छैनौँ’, जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेख अदालतले बताए । 
प्रारम्भिक अनुसन्धानमा उनको हत्या नभई आत्माहत्या नै भएको देखिएको प्रहरीले जनाएको छ । तर स्थानीय सो कुरालाई मान्न तयार छैनन् । स्थानीयले प्रहरी र स्वास्थ्यकर्मी समेतको मिलेमतोमा पोर्टमार्टम रिपोर्ट समेत गलत दिएको भन्दै मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय र मन्थली बजारमा समेत नाराजुलुस गरेका थिए । साँझ अबेरसम्म गाउँबाट मन्थली आएका स्थानीयले बजारमा नाराजुलुश गरेका थिए । ‘मृतकको हत्या नै भएको हो । तर घटनाई मिलेमतोमा आत्मा हत्या भएको भनि पुष्टि गर्न खोजिदै छ’, गाउँपालिका अध्यक्ष गोविन्द खड्काले बताए । मंगलबार दिउँसोनै प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरिएको श्रेष्ठको लास नबुझी स्थानीय आन्दोलित भएका थिए । लासको पुन पोष्टमार्टमका लागि टिचिङ अस्पताल लैजाने सहमति भएपछि आफन्तले आज लास काठमाडौँ लगेका छन् । किटानी जाहेरी परेका श्रेष्ठ र खड्कालाई भने प्रहरीले सोमबार नै नियन्त्रणमा लिएको थियो । उनीहरुलाई स्थानीयको कारण असुरक्षा भएकोले प्रहरीले सुरक्षामा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेख अदालतले बताए । उनले प्रारम्भिक अनुसन्धानमा आत्मा हत्या नै गरेको देखिएको पनि बताए । थप कुरा भने पोष्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्ने पनि उनले बताए ।
झलमायाँको लास टिचिङ अस्पताल लगियो, पोष्टमार्टम रिपोर्टमा असन्तुष्टि
- प्रकाशित मिति: बिहिबार, कार्तिक २२ २०७५
- तामाकोसी खबर