रामेछाप बिजुलीकोटकी झलमायाँ श्रेष्ठको हत्या कि आत्माहत्या

  • प्रकाशित मिति: बुधबार, कार्तिक २१ २०७५
  • तामाकोसी खबर

रामेछाप । कार्तिक २१ गते,
स्थानीयले हत्याको आशंका गरेका रामेछापको लिखु तामाकोशी गाउँपालिका ४ की झलमायाँ श्रेष्ठको प्रारम्भिक अनुसन्धानमा आत्माहत्या नै भएको देखिएको प्रहरीले जनाएको छ । उनको शव सोमबार आप्mनै घरको धुरीमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।
उनलाई हत्या पछि झुण्ड्याएको भन्दै उनका पति धननारायण श्रेष्ठ र सोही स्थानकी गोपिनी खड्काका विरुद्ध जिल्ला प्रहरी कार्यालय रामेछापमा किटानी जाहेरी दिइएको थियो । सो जाहेरी प्रहरीमा दर्ता भने नभएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक शेख अदालतले बताए ।
गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्का, वडा नं ३ र ४ का वडाअध्यक्षहरु सहित २ सय ३९ जनाले प्रहरीमा उजुरी दिएको गाउँपलिका अध्यक्ष खड्काले बताए पनि त्यस्तो जाहेरी आपूmकोमा नआएको अदालतले बताए । मृतक महिलाले अघिल्लो दिन पतिले कुटपिट गरि मार्न खोजेको भन्दै बचाउन बजारमा हारगुहार गरेको भोलिपल्टै झुण्डिएको अवस्थामा लास भेटिनुले उनको हत्यानै गरिएको गाउँपालिका अध्यक्ष खड्काको भनाई छ ।
प्रहरीले भने प्रारम्भिक अनुसन्धानमा उनको हत्या नभई आत्माहत्यानै गरेको देखिएको जनाएको छ । अहिले हेर्दा आत्माहत्या नै देखिएको र बाँकि कुरा पोष्टमार्टम रिपोर्ट आएपछि मात्र भन्न सकिनेप्रहरी प्रवक्ता अदालतले बताए । उनको शव पोष्टमार्टम गरी बुझाई सकेको बताउँदै प्रहरीले यस बारेमा थप अनुसन्धान भने हुने जनाएको छ । घटनालाई गाउँपालिका अध्यक्षलेनै अतिरञ्जित गर्न खोजेको पनि अदालतले बताए । मृतकका पति र स्थानीय गोपिनी खड्कालाई असुरक्षा भएकै कारण प्रहरीले सुरक्षामा लिएको समेत उनले जानकारी दिए ।
उता हत्याको घटनालाई आत्माहत्या भन्दै ढाकछोप गर्न खोजेको भनि स्थानीयहरु आन्दोलनमा उत्रिएका छन् । साँझ धोबीदेखि गाडीमा आएका महिलाहरुले प्रहरी कार्यालयमा पुगि घटनाको निष्पक्ष छानविन गर्नु पर्ने माग गर्दै नाराजुलुश गरेका थिए ।