काठमाडौं । प्रधानमन्त्री केपी शर्माको स्वास्थ्यलाई लिएर चासो र चिन्ता बढेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले हिजो आयोजना गरेको चियापानमा अनुपस्थित भएपछि प्रधानमन्त्री अस्वस्थ रहेको सार्वजनिक भयो । बेलैमा त्यसबारे जानकारी नदिँदा केही अन्योल पनि देखियो । खासमा प्रधानमन्त्रीलाई भएको चाहिँ के हो त ?
भृकुटीमण्डपमा शनिवार नेकपाको चियापान जारी रहँदा प्रधानमन्त्री ओलीलाई शिक्षण अस्पताल महाराजगन्ज लगिएको थियो । रुघाखोकी, ज्वरो र छातीमा ‘इन्फेक्सन’ भएका कारण प्रारम्भिक उपचार र चिकित्सकको परामर्शपछि घरमा नै आराम गर्न उचित हुने भन्दै प्रधानमन्त्रीलाई फर्काइयो । त्यसयता उनी बालुवाटारमै आराम गरिरहेका छन् । र, उनको स्वास्थ्य सुधारोन्मुख रहेको निजी सचिवालयले प्रेस नोट जारी गरेर जनाएको छ ।
भारतको अपोलो अस्पतालमा ११ वर्ष पहिले मिर्गौला प्रत्यारोपण गराएयता प्रधानमन्त्री ओलीले निरन्तर औषधि सेवन गरिरहेका छन् । मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिले जीवनभर रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी खानुपर्छ । चिकित्सकका अनुसार शरीरको प्रतिरक्षा प्रणालीले अरूबाट ल्याएर राखिएको मिर्गौलालाई सजिलै चिन्दैन । अरुको मिर्गौलालाई आक्रमण गरेर नष्ट पार्न खोज्छ । त्यसैले मिर्गौला नष्ट हुन नदिन शरीरको प्रतिरक्षा प्रणालीलाई औषधि दिएर लठ्याइन्छ । प्रत्यारोपण गरिएका व्यक्तिको शरीरमा सामान्य व्यक्तिभन्दा निकै चाँडो र डरलाग्दो किसिमले संक्रमण हुन सक्छ ।
चिकित्सकका अनुसार अहिले रोग प्रतिरोधात्मक क्षमता कम भएर प्रधानमन्त्रीलाई छातीमा संक्रमण भएको हो । सुरुमा इमर्जेन्सीकै संकेत देखिए पनि विस्तृत जाँच गर्दा संक्रमणको स्थिति घरमै आराम गर्दा पनि नियन्त्रणमा लिन सकिने भएकोले निवासमै आराम गराइएको हो । स्वास्थ्य सुधारोन्मुख भएपनि पूर्ण ठीक नभएसम्म प्रधानमन्त्री सार्वजनिक कार्यक्रममा सहभागि नहुने निजी सचिवालयले जनाएको छ ।