कञ्चनपुरमा डेंगु संक्रमित सात जना फेला परेपछि …

  • प्रकाशित मिति: शनिबार, कार्तिक १० २०७५
  • तामाकोसी खबर

कार्तिक १०/ कञ्चनपुरमा डेंगुका सात जना बिरामी फेला परेका छन्। शंकास्पद ५२ जना बिरामीको महाकाली अञ्चल अस्पतालमा रगत परीक्षण गर्दा सात जनामा डेंगुको भएको फेला परेको हो।

अस्पतालमा रगत परीक्षण गरिएका तीन जनामा आइजिएम र चार जनामा एनएस एक नामक डेंगुका जीवाणु फेला परेको महाकाली अञ्चल अस्पतालका ल्याब टेक्निसियन महेशदत्त जोशीले जानकारी दिए। उनीहरुमध्ये दुई जना भारतबाट फर्किएका हुन्। एडिज एजिप्टि जातको पोथी लामखुट्टेले टोक्दा डेंगु हुने गर्दछ।



दिउँसो सक्रिय हुने यस जातको पोथी लामखुट्टेले टोकेमा डेंगु हुने गरेको टेक्निसियन जोशीले बताए। लाखमुट्टेले घरमा रहेका कुलर, टायर, गमला लगायतको सफा पानीमा लार्भा उत्पादन गर्ने गर्दछ। डेंगु भएमा उच्च ज्वरो आउने, बान्ता हुने, शरीरका जोर्नीहरु दुख्ने, प्लेटलेसको कमीले शरीर निलो हुने, राता डामहरु देखा पर्ने गर्दछन्।

यस्ता लक्षण देखा परे तत्काल नजिकको स्वास्थ्य चौकी वा अस्पतालमा उपचारका लागि जान स्वास्थ्यकर्मीहरुको सुझाव छ। यसैगरी कञ्चनपुरमा भुसुनाको टोकाइबाट हुने कालाज्वरका एक जना बिरामी फेला परेको छ। महाकाली अञ्चल अस्पतालमा उपचारका लागि आएका एक जना बिरामीमा कालाज्वर पाइएको हो।