एउटा सामान्य कुराबाट प्रसंग जोड्न चाहान्छु । देशका कुनै पनि नेतालाई एउटा प्रश्न सोध्नुहोस्, तपाई आँफु बन्न चाहानु हुन्छ कि देश बनाउन चाहानुहुन्छ ?
१०० प्रतिशतले देश बनाउन चाहन्छु नै भन्छन् । यो देशको चिया पसलमा गफ दिने ठुटे नेतादेखि महान नेतासम्मलाई यो देशको औधी माया लाग्छ । मुलुक र जनताका लागि जस्तो त्याग गर्न पनि तयार छु भन्ने नेताहरु यहाँ थोकको भाउमा चोक चोकमा पाइन्छन् ।
देशको माया नभएका र जनताको माया नभएका एउटा नेता पनि छैनन यो देशमा । तर जब पद प्राप्ती हुन्छ त्यसपछि सल्लाहकार, विज्ञ, स्वकीय सचिव, नियक्त गर्नु प¥यो भने आफ्ना आफ्नालाई जागिरे खुवाउने ध्याउन्न हुन्छ । सकेसम्म छोराछोरी, नभए साला साली, नभए भाञ्जा भाञ्जी, भतिजा भतिजी, केही नलागे जील्लावासी । इतिहासदेखि वर्तमानसम्मका देशका मन्त्री प्रधानमन्त्रीहरुले आफ्नो वरपर राखेका मान्छेहरु हेर्नुहोला ।
यो घेराबाट बाहिर निस्केको मन्त्री प्रधानमन्त्री एक त भेटिदैनन्, दोस्रो खोज्न प¥यो भने बरु भुसको थुप्रोमा हराएको सियो भेटिएला त्यस्तो मान्छे भेटिदैन । गफ चाँहि देश र जनताका लागि रे । व्यवहार चाँहि आफ्नतलाई फस्ट मै जागिर खुवाउने । आजसम्म यो मुलुकको कुनै पनि मन्त्रीले खुल्ला प्रतिस्पर्धाबाट विज्ञ, सल्लाहकार पर्सनल सेक्रेटरी नियुक्त गरेको सुन्नु भा छ ? कहिले कसैले गरेको भए पो सुन्नु । कतिपय बिषयमा परिवार भन्दा बाहिरकालाई विश्वास गर्न सकिन्न ठीक छ, तर भएभरका पदमा आफन्त वा कार्यकर्ता भर्ती गर्ने अनि देश र जनताका लागि भनेर गफ चाँही किन दिने ?
प्राय जसो आफ्नो नेताले हावादारी, बकम्फुसे कुरा गर्दा पनि छाती पिटेर समर्थन गर्नेहरु देख्नु भएको होला नी । सिंग न पुच्छरको कुरा गरेर जनता हासीसकेका हुन्छन् त भक्तहरु ज्यान दिएर बचाउँ गरिरहेका हुन्छन् नी । कारण थाहा छ ?
कारण सिम्पल छ, आफ्ना नेताको गलत काम, विचार र व्यवहारको पनि बचाउ गर्न र छाती पिटेर समर्थन गर्न लागि परेकाहरुलाई, हो त्यही २÷४्र पटा पदको लोभ हुन्छ ।
कहि न कहि कतै न कतै यस्तो घुसाई दिन्छन् कि भन्ने आशाले चाकडी गर्नेहरु नै हुन, नेताले सरासर गलत काम गर्दा पनि थपडी बजाउनेहरु । आफ्ना नेताको खुलेर विरोध गर्न सक्नेहरु एउटा पनि नभएपछि नेताहरु भै मा न भाडामा हँुदैनन् ?
विरोध आफ्नो नेताको गरौ न । आफ्ना नेतालाई सपार्न तिर लागौन अनि पो त्यो नेता लाई डर हुन्छ । मैले गलत बोले भने सबैभन्दा पहिला मेरै कार्यकर्ताले हप्काउँछन्, गाली गर्छन, आलोचना गर्छन भन्ने डर आज कुन दलको कुन नेतासँग छ ?
सोच्नै पर्दैन, छैन, कसैसँग पनि छैन । जे बोले पनि आँखा बन्द गरेर समर्थन गर्ने भक्तहरुको हुल बोकेको कुनै पनि नेताले यो देश र जनताको लागि भनेर नखोके हुन्छ । परिवार इष्ट मित्रलाई जागिर दिने भन्दा ठुलो हैसियत र क्षमता नभएको नेताले देश बदल्ने रे । कतिलाई कति वर्षसम्म कति मात्र पत्याउनु ?
यदि सारा नेता, राजनीतिक दललाई देश कै चिन्ता हो भने आपसी कोर्डिनेशन खोइ त ? आजसम्म एउटा राजनीतिक दललले सत्ता सम्हाल्दा, अर्को दललाई तपाईको दलसँग सम्बद्ध यो यो क्षमता भएको विज्ञ, जनाकार, अनुभवी, योग्य मानिसलाई सिफारिस गरि मुलुकको विकासमा सहयोग गरिदिन अनुरोध गर्दछौ भन्ने व्यहोराको चिठी लेखेको छ ?
मेरै छोराछोरी, मेरै साला साली, मेरै भान्जा भान्जी, मेरै गाँउले, मेरै जिल्लावासी, मेरै पार्टी निकट, जे पनि मेरै मात्र । हो यसरी जे पनि म र मेरै भनेकाले आफ्नै मात्र प्रगती भयो, देशको प्रगती भएन ।
देशको पिरले सताउँदा सताउँदा बढेको भुडी पो हो त । सुनेको थिए डा. बाबुराम भट्राई पुन निर्माण प्राधिकरणको सिइओ हुन चाहान्थे । देशको प्रधानमन्त्री भैसकेको, इभन अर्थ मन्त्री हुँदा केही राम्रो काम गरिसकेका बाबुराम भट्राईलाई काठमाडौंको सडक चौडा पार्ने लगायतका केही राम्रा कामको क्रेडिट दिन कन्जुीयाँई गर्न हुन्न ।
ससत्र द्धन्द लगाएत उनको राजनीतिक पृष्ठभुमी र भुमिकाको चर्चालाई यहाँ नजोडौ तर यदि देशको प्रधानमन्त्री भैसकेको अनुभवी मान्छेले पुन निमार्ण प्राधिकरणको कार्यकारी हुन खोजेका थिए भने के गलत थियो होला र ?
तर एउटा दलको सरकार हुँदा अर्को दलको मान्छे जतिसुकै सक्षम होस न, कसैले राख्दैन । हुन त स्वयं बाबुरामको दल नयाँ शक्तिले सत्ता सम्हाले पनि अर्को दलको मान्छेलाई राख्ने सासह बाबुराम मै नहोला ।
आज ३ वर्ष वितिसक्यो, पुननिर्माण प्राधिकरणक सिइओ फेरेका फेरै छ, पुन निर्माणको गती सीयो जत्रो पनि छैन । आफ्नाहरुको घेरा तोड्न नसक्नेहरुले जतिखेर पनि देश र जनता देश र जनता भनेको सुनेर कान पाक्न लाग्यो ।
बरु यो सिमेन्टी र डण्डीको विज्ञापनले देश बनाउला तर देश र जनता भन्ने नेताले बनाउलान भन्ने आश रहेन ।