२६ औ विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा रामेछापमा अनतरक्रिया

  • प्रकाशित मिति: बुधबार, असोज २४ २०७५
  • तामाकोसी खबर

रामेछाप । असोज २४ गते,
आज २६ औ विश्व मानसिक स्वास्थ्य दिवस रामेछापमा पनि एक कार्यक्रमको आयोजना गरी मनाइएको छ । वदलिदो विश्व परिस्थितिमा युवा र मानसिक स्वास्थ्य भन्ने मूल नाराका साथ रामेछाप सदरमुकाम मन्थलीमा जिल्लाको मानसिक स्वास्थ्यको सवालमा काम गरिरहेको टि.पि.ओ नेपाल नामक संस्थाले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा मन्थली नगरपालिका स्वास्थ्य शाखाका प्रमुख केशवराज फुयालले जिल्लाभरको मानसिक स्वास्थ्यको अवस्थाका बारेमा जानकारी गराएका थिए । उनले मन्थली नगरपालिकाले विभिन्न संघ संस्थाहरुको सहयोगमा नगर स्वास्थ्य शाखाले मानसिक रोग सम्बन्धी विभिन्न तालिमहरु संचालन गरेको बताए । यस्ता तालिमबाट गाउँगाउँमा मनोपरामर्श कर्ता र उपचारका लागि चिकित्सकहरु उत्पादन भएको उनले बताए । उनले यस वर्ष जिल्लाभरका ४ सय ३ जनाले मानसिक स्वास्थ्य उपचार पाएको बताए ।
कार्यक्रममा बोल्दै प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीका डा.आनन्द खाती र तामाकोशी सहकारी अस्पतालकी डा.लक्ष्मी पन्थीले जिल्लाभरबाट उपचार गर्न आउने मानसिक समस्या भएकाहरुको अवस्थाको बारेमा बोलेका थिए ।
१४ बर्ष माथीका अधिकांस मानिसमा कुनै न कुनै मानसिक समस्या देखा पर्ने भएकाले मानसिक स्वास्थ्यका क्षेत्रमा सरोकारवाला निकायले प्रभावकारी काम गर्नुपर्नेमा उनीहरुको जोड थियो । कार्यक्रमको आयोजक संस्था टि.पि.ओ नेपालका कार्यक्रम संयोजक पाण्डव प्रसाईले आफुहरुले रामेछापको मन्थली नगरपालिका र खाँडादेवी गाउँपालिकामा मानसिक स्वास्थ्यका क्षेत्रमा काम गरिरहेको बताए । अहिले मन्थली नगरपालिका र खाँडादेवी गाउँपालिकाका १ सय २३ जनाले मानसिक समस्याका कारण उपचार गराई रहेको उनको भनाई छ । यी दुई स्थानीय तहमा फेला परेका मासिक समस्या भएका मानिसहरुको अनुपातलाई हेर्दा जिल्लाको अन्य स्थानीय तहमा पनि यस्ता समस्या धेरै हुने भएकाले यसमा गम्भीर बन्न सरोकारवाला निकायलाई उनले आग्रह समेत गरे ।