रामेछापमा एक बर्षमा ३ सय ३८ जना महिलाले गराए सुरक्षित गर्भपतन

  • प्रकाशित मिति: बुधबार, असोज १० २०७५
  • तामाकोसी खबर

रामेछाप । असोज १० गते,
आज पाँचौ सुरक्षित गर्भपतन दिवस रामेछापमा पनि विविध कार्यक्रम गरी मनाइएको छ । मन्थली नगरपालिकाको आयोजनामा सदरमुकाम मन्थलीमा अबको गन्तब्य असुरक्षित गर्भपतनको अन्त्य भन्ने नाराको साथ प्रभातफेरी तथा चेतना मूलक कार्यक्रमको आयोजना गरीएको छ । मन्थली नगरपालिका भित्रका स्वास्थ्य स्वेयम सेविका , विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्य कर्मीहरु , विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागितामा मन्थली बजारमा प्रभातफेरी गरिएको गरिएको हो ।
प्रभातफेरी पश्चात मन्थली नगरपालिकाकी उपप्रमुख माया कुमारी कार्कीको अध्यक्षतामा एक कार्यक्रम गरी सहभागिहरुलाई सुरक्षित गर्भपतका बारेमा जानकारी गराइएको मन्थली नगरपालिका स्वास्थ्य शाखाका प्रमुख केशबराज फुयालले जानकारी दिए । रामेछाप जिल्लामा पछिल्लो समयमाा सुरक्षित गर्भपतन गराउने महिलाहरुको सङख्या बढ्दो छ ।
जिल्लामा आर्थिक बर्ष २०७४÷७५ मा ३ सय ३८ जनाले सुरक्षित गर्भपतन गराएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङकमा छ । यस मध्य १५ जनाले क्याक सेवा ( चिकित्सक ) मार्फत र ३ सय २३ जनाले औषधी सेवन गरी सुरक्षित गर्भपतन गराएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । जिल्लाभरका २० वटा स्वास्थ्य संस्थाबाट निशुल्क रुपमा सुरक्षित गर्भपतन सेवा प्रदान गरिदै आएको छ । जिल्लाका जनप्रतिनिधि, सरोकारवाला र महिला अधिकारकर्मीले असुरक्षित गर्भपतनको समस्याबाट मुक्त जिल्लाको रुपमा चिनाउन तथा मातृ मृत्युदर कम गर्न प्रतिबद्ध भएर लागन आवश्यक छ ।