काठमान्डौ, असोज १ गते ।
अहिले हाम्रो समाजमा बलात्कारका घटना नै सामान्य लाग्न थालिसके । हरेक दिनजसो सञ्चार माध्यमहरुमा आउने यस्ता घटना सुन्दा सुन्नेहरु सामान्य मान्न थालिसके । जबसम्म आफुलाई, आफ्नो आफन्तलाई, आफ्नो टोल, छिमेक र समाजमा यस्ता घटना घट्दैन तबसम्म अहिलेका मान्छेहरु त्यसको संवेदनशीलता महशुस गर्न सक्दैनन् ।
बलात्कार समान्य कुरा हैन, महिलाहिंसाको चरम रुप हो । मानवअधिकार र कानुनका दृष्टिमा बलात्कार एक जघन्य अपराध हो । सबभन्दा महत्वपूर्ण कुरा बलात्कार महिलाहरुप्रतिको हेपाईको चरम रुप हो । अहिले महिलाहिंसाको चरमरुप बलात्कार जस्ता घटनाहरु नै यति धेरै सार्वजनिक भइरहेका छन् भने बाँकी अन्य महिलाहिंसा कति भइरहेका होलान ? कति महिलाहरु आफुमाथि भइरहेका हिंसा सहेरै बसिरहेका होलान ? कतिपय महिलाहरु त आफुमाथि भइरहेको हिंसा समेत हिंसा हो भनेर नबुझेर महिलाको नियती यहि हो महिला भएपछि यो भोग्नै पर्छ भनेर चित्त बुझाएर बसिरहेका होलान् ? यसको त कुनै लेखा जोखा नै छैन ।
महिलामाथि हिंसा हुने क्रम अहिलेदेखि सुरु भएको होइन । जबदेखि हाम्रो समाजमा पितृसत्ता हावी हुँदै आयो, तबदेखि नै महिलामाथि हिंसा हुने क्रम बढ्न थाल्यो । हाम्रो समाजको गलत परम्पराको अभ्यासले यसलाई हुर्काउदै ल्यायो र अहिले पुँजीवादी युगले त्यसलाई अझ व्यापकता दियो । हुन त यसबीचमा केहि सकारात्मक चेतना, संस्कार र रितिहरुको विकास नभएको होइन तर पनि पुरुषवादी गलत सोच र संस्कारले ति सकारात्मक कुराहरुलाई ओझेलमै पारिरह्यो र महिलामाथि हुने हिंसाको क्रम बढिरह्यो । अझ विभिन्न रुपमा हिंसाको विस्तार र विकास हुँदै आयो ।
पछिल्लो समय सुचना प्रविधिको विकासले पनि महिलामाथि हिंसालाई न्यूनिकरण गर्न सकेन । प्रविधिको गलत व्यवहार, प्रयोग र अभ्यासले अझ हिंसाका घटना बढी रहे । फरक के भयो भने पहिले हिंसाका घटना कमै बाहिर आउथे । अहिले हिंसाका घटनाहरु बाहिर आउने क्रम भने बढेको छ । यो चाहि शिक्षा तथा चेतनाको विस्तार र सुचनाको पहुँचका कारणले पारेको प्रभाव हो । विस्तारै खुल्ला हँुदै आएको समाजको लक्षण पनि हो ।
आर्थिक अधिकार अर्थात सम्पत्तिमाथि महिलाको पहुँच, ज्ञानको अधिकार अर्थात शिक्षामा महिलाको पहुँच र वंशाधिकार अर्थात सन्तान र समाजमा महिलाको पहुँच प्राप्त गर्न नसकेकाले समाजमा पुरुषवादी सोच हावी भएको हो । यहि कारणले नै महिलामाथि हेपाहा दृष्टिकोणको प्रभाव बढेको हो ।
अंशको र वंशको एकाधिकार पुरुषमा भएकोले महिलामाथि विभेद भइरहेको छ ।
समाजका हरेक गतिविधिमा महिलामाथि विभेद छ र समाजका हरेक सोच र संस्कारमा महिलामाथि विभेद छ । समाजमा हरेक भाषा, धर्म, सम्प्रदायमा महिलामाथि विभेदको परम्परा छ । भलै सम्प्रदाय अनुसार त्यसको मात्रा घटबढ होला । यसरी समाजले महिलामाथि एकलौटि अधिकार जमाइरहेको छ र राज्य त्यसैको पछिपछि लागेको छ । राज्यले पनि महिलामाथि विभेद गरिरहेको छ । राज्यका हरेक निकायहरुमा महिलाको सम्मानजनक सहभागिता नै छैन । राज्यले कानुनमा पनि महिलालाई विभेद गरिरहेको छ । राज्यले नै महिलालाई दोस्रो दर्जाको नागरिकको रुपमा हेरिरहेको छ । परिवार वा समाजबाट हेपिएको नागरिकलाई राज्यले संरक्षण गर्नु पर्ने आम मान्यता हो तर यहाँ त राज्य नै विभेदकारी भइरहेको छ । राज्य भनेको प्रधानमन्त्री र मन्त्री परिषद मात्रै हैनन् । राज्य सञ्चालन गर्ने हरेक प्रशासनिक तथा सार्वजनिक निकायहरु राज्य हुन । ति हरेक निकायमा महिलामाथि विभेद छन् ।
महिलालाई हेर्ने दृष्टिकोण विभेदकारी छ । सबै दृष्टिकोले हेपिएकी महिला समाजको सोच, व्यवहार, प्रयोग र अभ्यासलाई दोष दिन्नन् । आफ्नै नियतिलाई दोषी ठानिरहेकी छन् । महिला भएर जन्मिनुलाई धिक्कार मानिरहेकी छन् । उही पुरुषवादी सोच हावी भइरहेको परम्परा र अभ्यासलाई स्वीकारी रहेकी छन । त्यहि संस्कारलाई निरन्तरता दिइरहेकी छिन् । सामाजिक विचार र व्यवहारमा संसारमा धेरै ठुलो परिवर्तन आइसक्यो तर माहिलामाथिको दृष्टिकोणमा भने अझै परिवर्तनको आभास गर्न सकिरहेको छैन । महिलाको समग्र विकासको पक्ष अझै पनि छाँयामा छ । त्यसैको आडमा महिलाहरुको दैनिक जीवनका विविध पक्षमा समस्या र विकृति बढीरहेको छ । तिनै विकृतिबाट अधिकांश महिला प्रताडित छन् ।
पूँजीवादी विश्वव्यापीकरण र उपभोक्ता संस्कृतिले महिलालाई वस्तुको रुपमा लिएको छ । ‘बिक्रि हुने जति सबै बेच’ भन्ने मानन्यताले महिलालाई, महिलाको संवेदनालाई भोग्ने सामानको प्राथमिक सूचीमा राखेर बेच्ने परिपाटी बसालेको छ । सामन्तीयुगमा महिलालाई कज्याएर शोषण गरिन्थ्यो तर पूँजीवादीयुगमा महिलालाई खुलाएर शोषण भइरहेको छ । महिलाको भोगमै आफ्नो पुरुषार्थ देख्ने मनोवृत्ति भएको पुरुषलाई पूँजीवादले अझ हिंस्रक पुरुषवादी बनाइदिएको छ ।
अहिलेको मान्छेलाई यति धेरै व्यक्तिवादी र भौतिक सुख प्राप्तीको चिन्तनमा निलिप्त बनाइदिएको छ कि ऊ सब कुरा बुझेरै पनि हिंसाप्रति उद्यत छ । महिलाको शरीरमाथि हैकम र जवर्जस्ती गर्ने प्रेरणा केवल शरीरको क्षणिक क्षुधाले मात्रै दिइरहेको छैन, बरु महिलाहरु पुरुष आश्रित र कमजोर नै हुुन भन्ने मानसिकताले एउटा पुरुषलाई क्रमशः यौनजन्य हिंसातर्फ बढ्न प्रेरित गरिरहेको छ ।
महिलामाथि हुने यौनजन्य हिंसा लगायत अन्य विभिन्न हिंसाका कारण महिलाहरु घर, परिवार, समाज कही पनि सुरक्षित छैनन् भन्ने खालका अनेकन् घटनाहरु बाहिरिएका छन् । जब संरक्षण गर्ने र सुरक्षा गर्ने सामाजिक संरचना नै विश्वासिलो छैन भने महिलाले को माथि विश्वास गर्ने ? हिंसालाई दण्डित गर्ने कानुनी बाटाहरु नै सत्ता र शक्तिको आडमा पैसा, पद र पावरमा विलय हुन्छ भने महिलाले अब केमा आड भरोसा गर्ने ? सामाजिक परम्परा, मूल्य, मान्यता र संस्कार नै आपराधिकरण भैसक्यो भने त्यही समाजमा कसरी संरक्षित हुने ? यसरी हाम्रो समाज जटिलतातर्फ बढीरहेको छ ।
हाम्रो सामाजिक पद्धतिगत मनोविज्ञान कस्तो छ भने महिलाले कुनै समस्या उजागर गरे भने अथवा हिंसालाई प्रतिवाद गर्ने चेष्ठा गरे ऊ आफै दोषी बन्नुपर्छ ।
समाजले समस्यालाई जता पल्टाएर हेरे पनि महिला नै दोषी ठहरिन्छीन् । यस्तो भेदवादको जरो निकै गहिरिएको छ र कथित समाजिक न्याय निरुपणमा महिला नै आहुती हुनुपर्छ । आखिर यस्तो विभेद कहिलेसम्म ? हाम्रो समाज महिलामैत्री भएर कहिले सुध्रिने ? हाम्रा समाजमा महिलाले आफ्नो अस्मिता, स्वाभिमान र आत्म–सम्मानमा कहिले गर्व गर्ने हुन् । यस्को त कुनै कल्पना नै गर्न सर्किको छैन् ?
किन पुरुषहरुबाट महिला सुरक्षित महसुस गर्न सक्दिनन् ? महिलाको स्वरुप देख्नै नहुने कामुक तृष्णाको पछि लाग्ने पुरुषको उत्पादन कहाँ भइरहेको छ ? हाम्रो पद्धती र मनोविज्ञानले बनाएको पुरुषको चरित्र के हो ? यसको दोषी एक्लो पुरुष मात्रै हो की सिंगो समाजको पद्धतीगत मनोविज्ञान ? यस्ता आपराधिक अभ्यास, व्यवहार र संस्कारलाई निरन्तरता दिएर हामीले कस्तो समाजको विकास गरीरहेका छौं ? अझै यसतर्फ गम्भिर हुने बेला आएको छैन ?
–प्रशुराम अधिकारी [email protected]