काठमाडौं । भदौ ३१ गते,
कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिन गर्न अर्काे ‘शक्तिशाली’ समिति गठन गरिएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एजआईजी) बढुवामा सिफारिस भएका डीआइजी धिरु बस्नेतको संयोजकत्वमा अर्काे समिति गठन गरिएको हो । घटनाको अनुसन्धानका क्रममा ६ जना प्रहरी नै निलम्बनमा परेपछि अनुसन्धान प्रभावकारी बनाउन डीआईजी बस्नेतको नेतृत्वमा समिति गठन गरिएको हो । यो समितिले सुरूमा अनुसन्धानमा खटिएका प्रहरीको अनुसन्धान गरी यथाशीघ्र प्रतिवेदन बुझाउने प्रहरी हेडक्वाटरका प्रवक्ता एसएसपी शैलेश थापाले जानकारी दिए ।
यसैबिच कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धानकर्ता ५ जना प्रहरी निलम्बन प्रकरणमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबीच मतान्तर देखिएको छ । अनुसन्धानमा खटिएका प्रहरीको ‘कमजोरी देखिए बरु जागिरबाटै बर्खास्त गरौं तर अनुसन्धान अधिकारीलाई नै निलम्बन गर्दा संगठनभित्र राम्रो सन्देश जाँदैन’ भन्ने आईजीपी खनालको मत रहेको स्रोत बताउँछ । तर, गृहमन्त्री भने देशैभरि चर्कन थालेको आन्दोलनलाई मथ्थर पार्न ती प्रहरी अधिकारीलाई निलम्बन गर्नुपर्ने पक्षमा थिए । अन्ततः आईजीपीको असन्तुष्टिबीच शनिबार साँझ गृहमन्त्रालयले पाँच प्रहरीलाई निलम्बन गरेको स्रोतको दाबी छ ।
निर्मला हत्या प्रकरणमा डीआईजी धिरु बस्नेतको नेतृत्वमा अर्काे छानबिन समिति
- प्रकाशित मिति: आइतबार, भाद्र ३१ २०७५
- तामाकोसी खबर