रामेछाप । भदौ ३० गते,
नेपालकै अति सिमान्तकृत र विपन्न थामी समुदायका बालबालिकाहरुले अब पढ्नको लागि कुनै खर्च गर्नु नपर्ने भएको छ । रामेछापको खाँडादेवी गाउँपालिकाले थामी समुदायका सम्पूर्ण बालबालिकाहरुको पढाई खर्च व्यहोर्ने भएको छ । हालसम्म समुदायबाट एकजनाले पनि एसइई उत्तिर्ण नगरेका सो समुदायका बालबालिकाको सम्पूर्ण पढाई खर्च गाउँपालिकाले व्यहोर्न लागेको खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले बताए । गाउँपालिका भित्र अध्ययन गर्ने सम्पुर्ण ६६ जना थामी समुदायका बालबालिकालाई गाउँपालिकाले पहिलो चरणको विद्यालय सामाग्रही वितरण गरेको छ ।
विद्यार्थीहरुलाई स्कुल झोला, विद्यालय पोशाक, जुत्ता मोजा, कपि कलम लगायतका सामग्रिहरु प्रदान गरिएको छ । उनीहरुलाई पहिलो चरणमा यी सामाग्रीहरु वितरण गरिएको भए पनि आवश्यकता अनुसार थप सामान नियमित प्रदान गरिने गाउँपालिकाका अध्यक्ष प्रेम तामाङले बताए । उनीहरुले पढेसम्म पढ्न लाग्ने सबै खर्च गाउँपालिकाले व्यहोर्ने अध्यक्ष तामाङले जानकारी दिए । यो सहयोग प्राथमिक तहदेखि उच्च शिक्षा अध्यन गर्नेसम्मलाई हुने पनि उनले बताए । गाउँपालिकाले नीति नै बनाएर उनीहरुलाई नियमित सहयोग गर्ने व्यवस्था मिलाएको उनले जानकारी दिए ।
उनले खाँडादेवी गाउँपालिका भरि माध्यामिक तहसम्मको शिक्षा एकै खालको हुने पनि बताए । यस वर्ष एक कक्षबाट सुरु भरको अंग्रेजी माध्यमको पढाई अब क्रमश १० कक्षासम्म पुग्ने उनले जानकारी दिए । रामेछाप जिल्लामा खाँडादेवीसँगै दोरम्बा गाउँपालिकामा पनि थामी समुदायको बसोबास रहेको छ । खाँडादेवी गाउँपालिकाको वडा नं ७ खाँडादेवीमा थामी समुदायको बसोबास रहेको छ । त्यस्तै दोरम्बा गाउँपालिकाको डडुवा र दोरम्बामा थामी समुदायको बसोबास रहेको छ । थामी समुदाय शिक्षा तथा आर्थिक र सामाजिक हिवासले अहिले पनि अति पछाडी पारिएका छन् ।