रामेछाप । भदौ २३ गते,
हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा रामेछापका महिलाहरु किनमेलमा व्यस्त हुन थालेका छन् । तिज आउन केहिदिन बाँकी हुँदा रामेछापको सदरमुकाम मन्थलीमा सुनचाँदीका गरगहना, कपडा र दर पकाउन आवश्यक सामाग्री किन्ने ग्राहकहरुको विहानैदेखी भिड लाग्ने गरेको छ । कपडा पसलमा बिहानदेखी नै तिजको लागी कपडा किन्नेको संख्या बढेको व्यवसायीहरु बताउँछन् । 
रामेछापको सदरमुकाम मन्थली, पूरानो सदरमुकाम रामेछाप बजार, खिम्ती, मिल्ती, धोवी, साँघुटार लगाएतका बजार केन्द्रमा तिजको चहलपहल बढेको छ । ग्राहकहरुले विशेषगरि रङगिन साडी, चोली, लेहेङगा सहित पहिरन किन्ने गरेका छन् । त्यस्तै रङगिन चुरा, पोते, धागो, श्रृङगारको सामाग्रीको व्यापार पनि फस्टाएको व्यवसायीहरुको भनाई छ । तिज नजिकिदै जाँदा विभिन्न संघसस्था, समूहहरुले विविध कार्यक्रम सहित दर खाने कार्यक्रमहरुको पनि आयोजना गरिरहेका छन् । स्थानीय तह र सरकारी संस्थाहरुले पनि राज्य कोषको रकम खर्च गरेको दर खाने कार्यक्रमहरुको आयोजना गर्न लागेका छन् । यस्तो कार्य राज्य कोषको दुरुपयोग भन्दै आलोचना पनि हुन लागेको छ ।
यसैबिच रामेछाप सदरमुकाम मन्थलीमा नेकपा निकट महिला संघठन अखिल नेपाल महिला संघले तिज विशेष सांगितिक समारोहको आयोजना गरेको छ ।
अनेमा संघ रामेछापकी संयोजक गंगा कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नम्बर ३ की सांसद सरस्वती बस्नेत , मन्थली नगरपालिकाकी उपप्रमुख माया कुमारी कार्की, लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्का , नेकपाका नेता चित्र बहादुर कार्की , यूवा संघ रामेछापका अध्यक्ष वुद्ध लामा लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।
तिज नजिकिदै संगै रामेछापका बजारी क्षेत्रमा चहलपहल बढ्यो, ठाउँ ठाउँमा सांगितिक कार्यक्रम
- प्रकाशित मिति: शनिबार, भाद्र २३ २०७५
- तामाकोसी खबर