काठमाडौं । भदौ २२ गते,
निर्मला पन्तको बलात्कारपश्चात हत्याको घटनामा प्रहरीको लापर्वाही देखिएको उच्चस्तरीय छानबिन समितिका संयोजक हरिप्रसाद मैनालीले बताउनुभएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी उच्चस्तरीय छानबिन समितिका संयोजक हरिप्रसाद मैनालीले निर्मलाको हत्या प्रकरणमा प्रहरीले अनुसन्धानको पाटोलाई छोडेर लापर्वाही गरेको देखिएको बताउनुभएको हो । उहाँले निर्मलाको बलात्कारपश्चात हत्याको घटनालाई लिएर कञ्चनपुरमा भएको आन्दोलन बिना कारण नभएको भन्दै यसमा कतै न कतै प्रहरीको दोष भएको बताउनुभयो । ‘
हिजोको त्यो अवस्था त्यसै आएको होइन’, मैनालीले भन्नुभयो, ‘त्यसमा प्रहरीको त्रुटी देखिएको छ । उहाँले जनताले आन्दोलनमा होमिनुपर्ने अवस्था आउनुको पछाडि प्रहरीले सही रुपले अनुसन्धान नगरेको भेटिएको बताउनुभयो । उहाँले अनुसन्धानका क्रममा आफूहरु यस्ता थुप्रै तथ्यहरु फेला पारेको बताउँदै टोलीले प्रहरीको नयाँ अनुसन्धान टोलीलाई प्रमाण तथा तथ्यहरुका बारेमा बताएको जानकारी दिनुभयो ।
उच्चस्तरीय छानबिन टोलीले तात्कालीन प्रहरी प्रमुखकै कमजोरीले घटनाको निष्पक्ष छानबिन हुन नसकेको ठहर गरेको छ । समितिका संयोजक मैनालीले अनुसन्धानमा प्रहरी प्रमुखकै गैरजिम्मेवारीपन देखिएकाले उनलाई कारबाहीका लागि सिफारिस गरिएको बताउँदै अन्य प्रहरी अधिकृत र अनुसन्धानमा खटिएको टिमसँग पनि सोधपुछ गरेर आवश्यक परे कारबाहीका लागि सिफारिस गर्न सकिने बताउनुभयो । यता, निर्मलाको हत्या प्रकरणमा प्रहरीबाटै लापर्वाही भएको छानबिन समितिका सदस्य प्रहरी नायव महानिरीक्षक रामप्रसाद श्रेष्ठले बताउनुभयो । उहाँले पीडित परिवारले जानकारी गराउनासाथ प्रहरीले खोजी कार्यमा गएको भए अपराधीको पहिचान हुन समस्या नहुने बताउनुभयो । गृहमन्त्रालयले निर्मलाको बलात्कार र हत्याको घटनामा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको छानबिन तथा थप अनुसन्धानका लागि गृहका सह–सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरी भदौ ८ गते कञ्चनपुर पठाएको थियो ।
निर्मला हत्या प्रकरणमा प्रहरीनै प्रमुख दोषी
- प्रकाशित मिति: शुक्रबार, भाद्र २२ २०७५
- तामाकोसी खबर