रामेछाप । भदौ १२ गते, नवराज पथिक,
रामेछापको लिखु तामाकोसी गाउँपालिकामा घाँस काट्न गएका दम्पतीलाई खोलाले बगाएको छ । खोलाले बगाएका मध्ये पतिको लास फेला परेको छ भने पत्नी अझै वेत्ता छिन् । सोमबार अपरान्ह घाँस काट्न गएका लिखु तामाकोसी गाउँपालिका ५ नागदहका ३२ वर्षिय सिँहबहादुर तामाङ र उनकी पत्नी ३१ वर्षिय राममाईँ तामाङ मंगलबार पनि घर नफर्किएपछि बिहानबाट खोजि सुरु गरिएको थियो ।
खाजिको क्रममा उनीहरुको छोरीले खोला किनारमा आमाले लगाएको चप्पल फेला पारेपछि गाउँलेलाई खबर गरेकी थिएन । त्यस पछि भएको खोजिको क्रममा स्थानीय गैरी खोलाको श्रीपञ्चमी भन्ने स्थानमा सिँहबहादुरको लास फेला परेको छ । घटनास्थलमा पुगेका लिखु तामाकोसी गाउँपालिका वडा नं ५ का वडाअध्यक्ष सोमबहादुर तामाङका अनुसार सिँहबहादुरको लास खोलामा गाडिएको अवस्थामा भेटिएको छ । उनकी पत्नी भने अझै वेपत्ता छिन् । उनको खोला किनारमा खोजिकार्य भई रहेको तामाङले बताए ।