सिन्धुलीमा विरामीको चाप बढ्दो, एउटै वेडमा २ जना विरामीको उपचार

  • प्रकाशित मिति: आइतबार, भाद्र १० २०७५
  • तामाकोसी खबर

सिन्धुली । भदौ १० गते,
सिन्धुली अस्पतालमा अत्यधिक मात्रामा विरामीको चाप बढेको छ । विशेष गरि २ वर्ष मुनिका बालबालिकाहरु बढि रहेको अस्पतालले जनाएको छ । विरामीको चाप बढेसंगै शैयाको समेत अभाव हुदा एउटै वेडमा २ जना सम्म विरामीको उपचार गर्न अस्पताल बाध्य छन् । कमलामाई नगरपालिका ६ की सलिसा लम्साल आफ्नो २ वर्षको छोरालाई रुघा खोकि लागेको र छाति ध्यार–ध्यार गरेकाले अस्पताल ल्याएको बताउछिन् । सुरुमा रुघाखोकि मात्र लागेकोमा पछि ज्वरो पनि आएको उनको भनाई छ । त्यस्तै कमलामाई नगरपालिका २ भद्रकालीकी उमादेबी श्रेष्ठको पनि छोरालाई रुघा मर्कि र ज्वरो आयो । उपचारका लागि अस्पताल ल्याउदा भर्ना गर्नुपर्छ भने पनि बेडको अभावका कारण दुई वटा विरामी एउटै बेडमा राख्दा निकै नै समस्या भएको उनको भनाई छ ।
कमलामाई नगरपालिका ५ आलेका कल्पना आछामेको पनि ९ महिनाको छोरालाई ज्वरो र रुगाखोकिले ग्रस्त बनाएको छ । तर बेड अभावका कारण छोरालाई अर्को विरामीसंग राख्नु पर्दा झनै समस्या परेको उनी सुनाउछिन् । सिन्धुली अस्पतालका मेडिकल सुपरिटेन्डेण्ड डाक्टर सुमित्रा गौतम पनि १० दिनदेखि यस्ता विरामीहरुको संख्या अत्यधिक मात्रामा बढेको बताउछिन् । बेडको अभाव हुदाँ एउटै बेडमा २ वटा सम्म बच्चालाई राखेर उपचार गर्न बाध्य भएको उनले सुनाइन् । महिला र पुरुष राख्ने वार्डमा एक जना पनि ठूलो मान्छेलाई राख्न नसकेको उनको भनाई छ ।
बच्चा बाहेकका कतिपय विरामीहरुलाई अस्पतालमै राखेर डाक्टरको निगरानीमा उपचार गर्नुपर्ने भए पनि घरबाटै आउनुस् र सुइ लगाएर जानुस भन्नु पर्ने बाध्यता रहेको उनले बताइन् । मौसमका कारण बालबालिकाहरु बढि मात्रामा प्रभावित भएको हुन सक्ने उनले आशंक गरिन् । एकै छिनमा पानी पर्ने र एकै छिनमा घाम लाग्ने हुुदाँ बच्चालाई मौसममा अनुकुलन लवाई खुवाई ध्यान दिनुपर्नेमा उनले जोड दिइन् । तर पनि के कारणले बालबालिकाहरु बढि मात्रमा विरामी भएका हुन् भन्ने एकिन नभएकाले अनुसन्धान नै गर्नु आवश्यक रहेकाले केन्द्रलाई जानकारी गराएको उनको भनाई छ । उनले बालबालिकाहरुलाई रुघा खोकि लागेमा सामान्य त हो नी भनेर नबस्न र अस्पताल ल्याइहाल्न आग्रह गरिन् । जिल्ला अस्पताल सिन्धुलीमा दैनिक ४० देखि ५० जना विरामी आउने गरेकोमा आजभोली झण्डै ३ सय जना विरामी आउने गरेको अस्पतालले जनाएको छ । त्यसमा पनि अधिकांश २ वर्ष मुनिका बालबालिका रहेको अस्पतालको तथ्याङमा उल्लेख छ ।