खोकीका बिरामीको घरेलु उपचार विधि

  • प्रकाशित मिति: शुक्रबार, भाद्र ८ २०७५
  • तामाकोसी खबर

ऐजेन्सी, भदौ ८ गते । एन्टिबायोटिक्सको अत्यधिक प्रयोगले कुनै पनि संक्रमणलाई निको हुन कठिन बनाइरहेको छ। खोकी र घाँटी दुखाइ निको पार्न कागती, अदुवा र मह हालेको तातो पानी खाने घरेलु उपचार छ।

ब्रिटेनको न्याशनल इन्स्टिच्युट फर हेल्थ एण्ड कियर एक्सिलेन्स ९एनआसीइ० र पब्लिक हेल्थ इंग्ल्याण्ड ९पिएचइ० ले यसका लागि नयाँ निर्देशिका प्रस्ताव गर्दै यो विधिले खोकीको लक्षण सुधार्न मद्दत गर्ने केही सीमित प्रमाणहरू रहेको बताएका छन्। धेरै जसो खोकीहरू भाइरसका कारण लाग्छ जुन चाहिँ एन्टिबायोटिक्सले निको पार्न सक्दैन।



यसअघिको अनुसन्धानले भने ब्रिटेनका ४८ प्रतिशत डाक्टरले खोकी वा ब्रोन्काइटिसका लागि एन्टिबायोटिक्स सुझाएको देखाएको थियो। पिएचइकी सहायक निर्देशक डाक्टर सुजन हप्किन्सले एन्टिबायोटिक्सले प्रतिरोधी क्षमतामा पुर्‍याउने असर ठूलो समस्या भएकोले यसको प्रयोग घटाउन कदमहरू चाल्न आवश्यक भएको बताएकी छन्।

उनले यो नयाँ निर्देशिकाले डाक्टरहरूलाई एन्टिबायोटिक्स विरामीलाई सुझाउन कम गर्न मद्दत गर्ने र डाक्टरलाई देखाउनुअघि आफ्नो ख्याल आफैँ गर्न पनि बिरामीलाई प्रेरित गर्ने बताएकी हुन्। यद्‌यपि उक्त निर्देशिकाले यदि अन्य गम्भीर रोगहरूका कारण खोकी लागेको भए चाहिँ एन्टिबायोटिक्स आवश्यक पर्नसक्न सुझाएको छ। एक वर्षभन्दा कम उमेरका बालबालिकालाई भने मह दिनु ठिक मानिँदैन।