रामेछापमा स्वास्थ्य विमा गर्नेको सङख्या बढ्दो , ७ महिनामा ८ हजार ५ सयले गरे स्वास्थ्य विमा

  • प्रकाशित मिति: बिहिबार, भाद्र ७ २०७५
  • तामाकोसी खबर

रामेछाप । भदौ ७ गते,
रामेछाप जिल्लामा नेपाल सरकारको स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नेपाल सरकारको कार्यक्रम अनुसार जिल्लामा हाल सम्म झण्डै २ हजार १ सय परिवारले स्वास्थ्य विमा गराएका छन् । आर्थिक अवस्था कमजोर भएका नागरिकलाई स्वास्थ्यको मूल प्रवाहमा ल्याउने उद्देश्यले सरकारले सामाजिक स्वाथ्य विकास समिति मार्फत ल्याएको स्वास्थ्य बिमा कार्यक्रममा रामेछापका सर्वसाधारणहरुको सहभागिता बढ्दो छ । कार्यक्रम सुरु भएको ७ महिनामा जिल्लाका २ हजार ९५ परिवारका ८ हजार ४ सय ३४ जना नागरिकले स्वास्थ्य विमा गराएका छन् । जसमा ४ हजार ७९ पुरुष र ४ हजार ३ सय ५५ जना महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य निरिक्षक केशवराज फुयालले जानकारी दिए । फुयालका अनुसार जिल्लामा सवैभन्दा धेरै मन्थली नगरपालिकाका नागरिकहरुले स्वास्थ्य विमा गराएका छन् । उनका अनुसार मन्थली नगपालिकाका १८ सय ३८ जनाले स्वास्थ्य विमा गराएका छन् भने रामेछाप नगरपालिकाका ४ सय ६७ जनाले मात्रै स्वास्थ्य विमा गराएका छन् ।
जिल्लाको लिखु तामाकोशी गाउँपलिकाका ५ सय ८९ ,गोकुलगंगा गाउँपालिकाका १४ सय ११ , उमाकुण्ड गाउँपालिकाका १२ सय ७७ जना नागरिकले आफ्नो स्वास्थ्य विमा गराएका छन् । त्यस्तै खाँडादेवी गाउँपालिकाका ५ सय ६७ ,दोरम्वा गाउँपालिकाका ११ सय ३६ र सुनापति गाउँपालिकाका ११ सय ९९ जनाले स्वास्थ्य विमा गराएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक फुयालको भनाई छ । स्वास्थ्य विमा गराएका मध्य २०७५ साउन महिना सम्म जिल्लाका ७ सय ५९ जनाले सेवा लिसकेको जनस्वास्थ्य निरिक्षक फुयालले बताए । जनस्वास्थ्य निरिक्षक फुयालले जिल्लाका केहि स्थानीय तहमा बहायक सवैमा स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी बन्दै गएको बताए ।
अबको दिनमा जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी बन्न नसकेका स्थानीय तहहरुमा प्रभावकारी योजना बनायर कार्यक्रम संचालन गर्ने उनको भनाई छ । विमा गरेका नागरिकहरुले जिल्ला अस्पताल रामेछाप,मन्थली गेलु र खिम्ति प्राथमीक स्वास्थ्य केन्द्र ,जिल्ला आँखा केन्द्र,तामाकोशी सहकारी अस्पताल मन्थली ,जिल्ला अस्पताल दोलखा र धुलिखेल अस्पताल बाट ५० हजारसम्मको स्वास्थ्य सेवा लिन सक्नेछन् । स्वास्थ्य विमामा आवद्ध हुनको लागी ५ जनासम्म सदस्य रहेको परिवारले २ हजार ५ सय र ५ जनाभन्दा माथिको संख्या भएमा ४ सय २५ रुपैयाँ थप शुल्क तिर्नुपर्नेछ । रामेछापमा २०७४ सालको पौष अन्तिम साताबाट स्वास्थ्य विमा कार्यक्रम सुरु भएको थियो ।