मैले पाउने तलब-भत्ता, गरिव-असहाय र अशक्तका लागि खर्च गर्छु

  • प्रकाशित मिति: बिहिबार, साउन २४ २०७५
  • तामाकोसी खबर

गोविन्द खडका, अध्यक्ष, लिखु-तामाकोसी गाउँपालिका रामेछाप

रामेछाप, साउन २४ गते ।–तामाकोसी गाउँपालिकाका अध्यक्ष गोबिन्द खडका जतिवेला पनि जनताकै समस्या समाधानमा केन्द्रित भइरहने जनप्रतिनिधि हुन् । तत्कालीन नेकपा एमालेबाट उम्मेदवार बनी भारी मतका साथ अध्यक्षमा निर्वाचित भएका खड्का आफ्नो कार्यकालमा आर्थिक अनियमितता र मतदाताले मन नपराउने कुनै पनि काम नहोस् भनेर निकै सतर्क देखिँदै आएका छन् । प्रदेश सरकारले तय गरेअनुसार अध्यक्षले पाउने तलबसमेत जनताको सेवामा समर्पित गरेका खड्का जनताकै काममा व्यस्त छन् । आएको सबै तलब जनताको आवश्यकताअनुसार वितरण गर्दै आएको र अब पनि सोहीअनुसार गर्ने उनी बताउँछन् । अध्यक्ष खड्काले पहिलो महिनाको तलब लिखु गाउँपालिका–१ दुरागाउँका २२ घर भूकम्पपीडितलाई, दोस्रो महिनाको तलब २ नम्बर वडा सैपुका असहायलाई र तेस्रो महिनाको तलब भने गाउँपालिका–७ तिल्पुङका सहिद परिवारलाई दिने बताएका छन । गाउँपालिकाको विकास, निर्वाचनको समयमा जनतासँग गरिएको प्रतिबद्धता र आगामी दिनको योजना लगायतको विषयमा केन्द्रित रही अध्यक्ष खड्कासँग यसिमा महतले गरेको कुराकानीको सम्पादित अंश ।

निर्वाचित भएको एक वर्ष नाघ्यो, देखिने गरी के काम गर्नुभयो ?



केही समय बुझ्न लाग्यो । जनताको खास समस्याको पहिचान त पहिला नै थियो । तर, त्यसलाई कार्यान्वयन गर्न समय त लाग्ने नै भयो । हामी निर्वाचित भएदेखि नै जनताको सेवामा निरन्तर लागेका छौँ । हाम्रो पहिलो प्राथमिकता खानेपानी समस्या समाधानतिर गयो । भवन निर्माणका सामग्री ढुवानी गर्न सजिलो होस् भनी ठाउँ हेरेर कहीँ घरघरमा त कहीँ टोलटोलमा बाटो पुर्याएको छु । खानेपानीको ट्यांकी मर्मतदेखि ट्यांकी नै नयाँ ल्याएर राख्ने काम पनि भएको छ । धेरैभन्दा धेरै यो वर्षमा भनेको बाटो नै हो । लिखु-तामाकोसी गाउँपालिकाका ७ वटा वडामा नै सबै ठाउँमा सडक पुगेको छ ।

सडक मात्रै हो एक वर्षको काम ?

अरू काम पनि भएका छन् । खिम्तीमा बाढी गएपछि बाढीपीडितलाई ५० हजार नगद र १५ हजार जिन्सी गरेर राहत दिइएको छ । दलित, आर्थिक विपन्न भएकाहरूलाई पनि नगद दिएको छु । व्यक्तिगत रूपमा कसैले पनि यसमा सहयोग गरेका छैनन् । मैले २०-३० हजार रुपैयाँ रिक्स लिएर भोलि भैपरी आएको खण्डमा आफैं तिर्ने गरी काम गरेको छु । तर, भोलि महालेखाले के गर्छ ? थाहा छैन । किनभने जनता गरिब छन्, बिरामी परेका छन्, पोलिएको, जलेको छ, उसको किड्नी फेल भएको छ, अथवा खुट्टा भाँचिएको छ, हात भाँचिएको छ र आर्थिक अभावकै कारण उपचार गर्न पाएका छैनन् भने हामीले पहिल्यै बिल भर्पाई खोजेर हुँदैन भनेर कार्यकारी अधिकृत, लेखापाल सबैलाई भनेर निजी तोक लगाएर १५ लाख रुपैयाँ खर्च गरेको छु ।

महालेखाले के गर्छ भनेर जनता मर्न दिनु त भएन नि । यो स्थानीय तहमध्ये नै पहिलो हुन्छ होला । तर, यदि महालेखाले तिरायो भने त्यो तिर्न पनि डराउँदिनँ । तिर्ने रणनीति लिएर जनताको सेवा गरिरहेको छु । महालेखाले तिराउने जनतालाई हो । तर, म जनतालाई तिराउँदिनँ, आफैं तिर्छु । यस अतिरिक्त खानेपानी समस्या समाधान गर्न सवै वडामा पाइप पुर्याइएको छ । मेरो भिजन नै पानी, शिक्षा, स्वास्थ्य, बिजुलीको विकास गर्नु थियो ।

आफू प्रमुख भएर भूमिका निभाउँदा र बाहिर बसेको समयमा सहयोग गर्दा के कस्ता अप्ठ्यारा आइपरे ?

मेरो टिम मिलेको भए धेरै काम गरिसकिन्थ्यो । जिल्लाको अन्य गाउँपालिकामा कति बजेट फ्रिज भएर पनि गएको छ तर मैले काम गरेँ, फ्रिज हुन दिइनँ । सवै समस्या समाधान गर्दै समृद्ध गाउँपालिका निर्माणको लागि लागिपरेका छौं । सवैको साथ सहयोग रहेको छ । मेरो लक्ष्य नागरिकता, विवाह दर्ता, मृत्यु दर्ता जस्तो बनाउने क्रममा एउटा नागरिकले पाउने हकअधिकारको कुरामा कर नलिउँ, छुट दिउँ भन्ने थियो । त्यही प्रस्ताव राखेँ । क्रसर उद्योगबाट, दुई वटा हाइड्रो छ, त्यसलाई अलि टाइट गरेर कर बढी लिने गरौँ । एकमुष्ठ गाउँपालिकामा राजस्व बुझाउन लगाउने, ठेक्कापट्टामा पनि बढी राजस्व लिने गर्दा नै राम्रो हुन्छ भनेको थिएँ । सर्वसाधारण जनतालाई सामान्य काममा लिन हुँदैन भन्ने मेरो मान्यता हो । एउटा सुकुम्बासी जनताले सार्वजनिक ठाउँमा टहरो बनाएर बस्यो, त्यसलाई पनि कर लिउँ भन्या छन् तर म त्यो कुरामा सहमत हुन्न भनेको थिए । यस्तो कुरामा मलाई दुःख लागेको छ तर बाध्य भएर साइन गरेको छु । तर, सुकुम्बासी एउटा टहरो बनाएर बसेको छ, उसँग के हुन्छ र उसँग कर लिनु हुन्छ त्यो हुँदैन । मेरो भिजन भनेको जनतालाई नै सेवा गर्नु हो । गाउँपालिकाको ७ वटै वडामा बाटोको ट्याग ओपन भएको छ । अब नयाँ ट्याग ओपन गर्न बाँकी कहीँ पनि छैन । ९५ प्रतिशत ट्याग ओपन भइसकेको छ पाँच प्रतिशत मात्रै बाँकी छ । मैले जनतालाई अहिलेको २१औँ शताब्दिमा पनि १८औँ शताब्दी जस्तो हामी अन्धकारमा रहनुपरेको मेरो लिखु उज्यालो बनाउँछु भन्ने घोषणा गरेको थिएँ । मेरो प्रमुख भिजन पनि त्यही हो ।

चुनावको वेलामा पनि ठाउँठाउँमा भाषणकै क्रममा पनि रेकर्ड नै गरेर राख्नुस् पनि भनेको थिएँ । त्यसैले नागदहमा दुई करोडको बजेट हाल्दा पनि एक हप्तासम्म कमिटीमा रहेकाले सहमत जनाउनु भएन तर बिजुली बाल्न बाँकी सबैमा पुर्याउने लक्ष्यका कारण बजेट निकासा गरेको हुँ । अब कम्तीमा एक महिना र बढीमा दुई महिनामा नागदह अन्धकारबाट मुक्त हुन्छ । लिखु–४ बिजुलीकोट एक महिनाभित्रै अन्धकारबाट मुक्त हुन्छ । बाँकी १ र २ वडा दुरागाउँ र सैपुको लागि बजेट हाल्ने समयमा पनि व्यापक झगडा नै पर्यो । अन्तिममा सबैजना सहमत पनि हुनुभयो तर त्यसमा पनि धेरै संघर्ष गर्नुपर्यो । १ र २ वडाबाहेक दुई महिनापछि सबै वडामा बत्ती बल्छ । त्यस हिसाबले पनि साढे २ करोड ५० लाख रुपैयाँ दुरागाउँलाई बजेट छुट्याइयो । लिखुको हिमाली भेग विकट ठाउँ, जहाँ बिजुलीको एउटा खम्बा पनि नदेखिएको र सैपुको केही बेसी भागमा बत्ती नै बलेको ठाउँ हो त्यसैले सैपुलाई १ करोड ७५ लाख उज्यालो लिखुको भिजनमा टेकेर काम गरिएको छ । चुनावी घोषणाको मेरो पहिलो भिजन अबको दुई वर्षभित्र सबै पूरा पनि हुन्छ ।

घर–घर, टोल–टोलमा पुगेको बाटो बाटोमा नै सीमित हो कि साधन पनि जान्छ ?

कतिपय ठाउँमा साधन पनि जान्छ । तर, कति ठाउँमा खन्ने क्रममा नै बजेट नै कम्ती हुँदा नाली काट्न, त्यसलाई वाल लगाउन समस्या भयो । कुनै राम्रो खनेको बाटो पनि वर्षाका कारण समस्या आएको छ । त्यसले गर्दा जानै नसकिने होइन कतिपय ठाउँमा सजिलै जान सकिन्छ त कतिपयमा मुस्किलले सकिन्छ तर जानै नसकिने भन्ने होइन । कतिपय ठाउँमा अहिले वर्षामा पनि घरघरमा ट्रयाक्टर गइरहेको छ ।

चुनावको समयमा जनतासँग गरेका प्रतिवद्धता कसरी पूरा हुन्छ ?

मैले चुनवाको समयमा म जितेर तलब खानका लागि होइन, सेवाका लागि आएको हुँ भनेको थिएँ । मेरो तलब असहाय, अशक्त, वृद्धवृद्धाको सेवामा र गरिब बालबालिकाको शिक्षामा खर्च गर्छु भनेको थिएँ । त्यो पूरा गर्छु र गर्दै पनि आएको छु । मैले पाउने तलब म एक रुपैयाँ पनि लिने छैन । म पाँच वर्षकै तलब गरिबको रेखामुनि रहेका, अशक्त र असहायका लागि खर्च गर्नेछु । यो घोषणा मैले गरिसकेको छु, त्यसबाहेक गाउँपालिकाको विकास र समृद्धिको लागि रातदिन नभनी काम गर्छु । गाउँपालिकाभित्र निर्माण हुने जलविद्युत् आयोजनामा अनिवार्य रूपमा सेयर हाल्ने व्यवस्था गर्नेछु । मैले मेरो कार्यकालभित्र गाउँपालिकाका युवाहरू वैदेशिक रोजगारीमा जान नपर्ने गरी रोजगारीको अवस्था सिर्जना गर्छु । गाउँपालिकाभित्रको उर्वरभूमिलाई आधुनिक खेती गर्न प्रोत्साहित गर्ने योजना अगाडि सरेको छु । पाँच वर्षको अवधिमा गाउँपालिकामा अस्पताल, एउटा कृषि क्याम्पस लगायतका पूर्वाधार निर्माण गर्ने योजना अगाडि सारेका छौँ । प्रतिबद्धता अनुसार नै काम गरिरहेको छु, जनताले महसुस गर्ने गरी कामै गरेर देखाउँछौँ ।

एक वर्षको समयमा जनतालाई केके सेवा दिनुभयो ?

एक वर्षमा हामीले धेरै काम गर्यौं। जुन बजेट आयो त्यो कम नै थियो त्यसैले बजेटअनुसार नै काम गर्ने हो । नमुना काम भनेको वडा ४ अन्धकारबाट मुक्त हुनु हो । एक-दुई महिनामा नै दुई वडा बाहेक सबैमा बिजुली हुन्छ । खानेपानीको पाइप, ट्यांकी, गरिब, दलित, विपन्न परिवारको व्यक्ति बिरामी छ र त्यसले उपचार गर्नका लागि अस्पतालसम्म जान पनि नसक्ने छ भने अवस्था हेरेर १५ लाखको हाराहारीमा गाउँपालिकाबाट आर्थिक सहयोग गर्यौं । त्यससँगै अवस्था हेरेर व्यक्तिगत रकम पनि दिँदै आएको छु यो मेरो जनताको सेवा हो । यी र यस्ता कामहरू स्थानीय तहमध्येकै राम्रो काम हो कुनै ठाउँमा पनि पैसा बाँडेका छैनन् । पालिकाका अन्य सदस्यहरू असहमत हुँदाहुँदै पनि धेरै कामहरू गरेको छु । यदि यो रकमहरू व्यक्तिगत तिर्न परे पनि पछि पर्दिनँ मलाई जनताले राम्रो काम गर्न पठाएका हुन् ।

निःशुल्क सेवा दिने भनेर भर्खरै दुई वटा एम्बुलेन्स ल्याउनुभएको छ नि ?

स्वास्थ्य क्षेत्रमा कुरा गर्दा म आफैं ठाउँठाउँमा गएर छड्के हिसाबले स्वास्थ्य चेकअप गरँे तर त्यहाँ जनताले निःशुल्क पाउने औषधि पनि अफिस समयभन्दा अन्य समय भए त्यहि औषधि किन्नुपर्ने अवस्था रहेछ अब त्यसको अन्त्य भएको छ । कतिपय बिरामीलाई आफैं तोक लगाएर धेरैपटक औषधि किनिदिएँ । धेरै बिरामीलाई सहयोग गरेँ । गाउँपालिकामा एम्बुलेन्स नहुँदा जनतालाई धेरै समस्या थियो । तर, गाउँपालिकावासीले मलाई भन्नुभएको थियो भन्नेले समस्या खेप्नुपरेन ।

यदि, मलाई उहाँहरूले भन्नु भएन र आफैं गुपचुप राख्नुभयो भने त आफैं जान्नु हुन्छ, मैले रातको १२ बजे पनि नभनी थाहा पाएसम्म आफूले गाडी पठाएर हुन्छ कि कसरी हुन्छ गाडी भाडा, एम्बुलेन्स भाडा तिरेको छु यो मेरो नमुना काम हो ।

७ सय ५३ स्थानीय तहमध्ये तपाईं एक हो त्यसैले अन्य ७ सय ५२ प्रमुखलाई के भन्न चाहनुहुन्छ ?

हाल गाउँपालिकाको घर छैन भाडामा छौँ । सरकारले दिएको नम्स अनुसार अब भवन बनाउँछौँ । त्यसपछि १५ शय्याका अस्पताल जसरी पनि बनाउँछौँ । शिक्षा क्षेत्रमा विशेष रूपमा काम गर्न जरुरी छ । तीन वर्षदेखिका बच्चालाई स्कुल हालिएको छ । उसले खाली गोडाले पैदल हिँडेको छ त्यो मेरो आँखाले देखेको कुरा हो यसका लागि म गाडीको व्यवस्था गर्ने योजनामा छु । शिक्षकले खाजा खाएको समयमा विद्यार्थीलाई पनि भोक लाग्छ त्यसैले तिनलाई पनि खाजा खाने वातावरण बनाउन पहल गर्छु । शिक्षा क्षेत्र विकासका लागि राम्रो अवधारणा ल्याउनेछौँ । गरिबको एक छोरा पानीमा स्कुल जाँदा पानीमा नै भिज्ने, घाम लाग्दा घाममा सेक्किने गरेका छन् । बिहानदेखि काम गर्दा घरमा खाना पाकेको समयमा त खाएर नै जान्छ तर नपाकेको समयमा भोकै पनि गएको हुन्छ दिउँसोको लागि भनेर राजधानीलगायत विकसित ठाउँमा पो ब्रेक टाइम भनिन्छ तर त्यहाँ त केही पनि छैन । पैदल हिँड्ने बालबालिकाहरूलाई बसको व्यवस्थापन गरेर ल्याउने, लाने र अंग्रेजी माध्यमबाट पढाइ सुरु गर्नेछौँ ।
अहिले अंग्रेजी नजानेको पीडा मलगायत म जस्ता अन्य स्थानीय तहका प्रमुखले भोग्नुपरेको छ । अहिले फेसबुकलगायत सामाजिक सञ्जाल चलाउन हामीलाई नै आउँदैन । त्यो भनेको अंग्रेजी शिक्षा राम्रो नभएकै कारण हो । अंग्रेजी माध्यमलाई बढी प्राथमिकता दिएर त्यसमा बढी बजेट छुट्याएर काम गर्नेछौँ ।

स्वास्थ्यमा भएको लापरबाही इन्चार्जहरू आफ्नो डिउटी मात्रै पूरा गर्ने अफिस समयभन्दा पछि आएको बिरामीहरूलाई स्वास्थ्य सेवा नदिने र औषधि पनि यो किन्नुपर्छ भनेर बेच्ने, एउटा सुई लगाएको पनि तीन हजारसम्म लिएको थाहा पाइयो अब यसको अन्त्य भएको छ ।
आफ्नै कार्यकालभित्र कुनै पनि हालतमा प्रधानमन्त्री कोषमा होस् चाहे जहाँ लडेर भए पनि १५ शय्याको अस्पताल बनाउँछु । एक करोड हामीले हाल्यौँ भने बाँकी सरकारले नै गर्ने भनेर राखेका छौँ । त्यो रकम कि त गाउँपालिकाको भवन बनाउनेमा खर्च गर्छौं कि त अस्पताल बनाउनका लागि लगानी गर्छु । जुन कुरालाई पनि चासो राखिएन र भाषण मात्र गरियो भने त्यो भाषण, बोलीमा नै सीमित हुन्छ । कल्पना गरेर कल्पनामा नै बित्न दिन हुँदैन त्यसैले कुराभन्दा बढी काम गर्नुपर्छ म त्यो गर्छु । तर, काम गर्ने मानिसलाई नै बढी आरोप प्रत्यारोपका चाङहरू आउने गर्छ यो मैले भोगेको कुरा हो ।

जनताको सेवाका लागि एम्बुलेन्स खरिद गर्ने पक्रियामा नै पनि धेरै दुःख भयो । दुई महिना सुनौली भन्सारमा रह्यो, अर्थमन्त्रालयबाट कर तिर्नुपर्छ भनेर भनेको थियो । तर, गाउँपालिकाले एम्बुलेन्स खरिद गर्दा कर दिनुपर्छ भन्ने नियम नभएका कारण मैले कर तिर्न मानिनँ यदि त्यो नीति थियो त बाध्य भएर तिर्ने थिए । स्वास्थ्य मन्त्रालयबाट सचिवस्तरीय मिटिङगरेर एम्बुलेन्स ल्याउने भनि चेक काटेको कुरामा मैले धेरै दुःख भोग्नुप¥यो गाह्रो भयो । गाउँपालिकामा पनि सुगम र दुर्गम दुबै ठाउँ छ त्यसैले सुगममा भन्दा बढी दुर्गम भेगलाई मध्यनजर गरेर अहिले गाउँपालिकाको कार्यालय भएकै स्थानमा एम्बुलेन्स राखिएको छ । यस्ता विकासका कामले गर्दा कतिपय साथीहरू रुष्ट हुनुभएको छ तर म काम गर्न छाड्दिनँ ।

विभिन्न आरोपप्रत्यारोप आइरहेका छन्, काम गर्न कत्तिको गाह्रो छ ?

होइन गाह्रो अप्ठ्यारो आखिर नियम, ऐन, कानुनले गरेको काम नगरी हुँदैन । जे काम पनि छलफलबाट निष्कर्ष निकालेर गर्ने हो । नहुने कुरामा म कुनै पनि हालतमा मान्दिनँ । यसवर्षदेखि कुनै पनि योजनामा एक लाखकै किन नहोस् म त्यो फिल्डमा पुगेकै हुन्छु । आँखा चिम्लेर साइन गर्दा एउटा समिति त धनी हुन्छ होला तर त्यहाँ जनताको विकास त हुँदैन नि । त्यहाँ अलिकति भने पनि भ्रष्ट त भयो नि । उहाँहरू खुसी हुनुहोला तर जनता रुष्ट हुन्छन् त्यसैले म राम्रो र जनताको हितको मात्रै काम गर्ने वाचा गर्दै आएको छु र अहिले पनि त्यहि गर्छु ।

अन्त्यमा के भन्नुहुन्छ ?

विवाद खप्न तयार छु, तर काम नभएको कुरामा रकम दिन तयार हुन्न यो मेरो वचन भयो । अन्त्यमा वडा सदस्यदेखि वडाध्यक्ष हुँदै गाउँपालिका प्रमुख, उपप्रमुख, मान्य मन्त्री सबैले जसरी हिजो हामीले जनतामा जुन मेन्डेट आफ्नो एजेन्डा लिएर गएका थियौँ । त्यहि एजेन्डामा विश्वास गरेर जनताले भोट हालेका छन् ती जनताका माग र भोटलाई भुल्न हुँदैन । तिनलाई सम्झेर अझ धेरै काम गर्नुपर्छ भन्ने ठम्याइ छ र मेरो कार्यकाल अवधिभर म त्यहि नै गर्छु ।

साभारः (सौर्य), जनता टाइम्स् डटकम