रामेछाप, साउन १८ गते ।
रामेछापको लिखु तामाकोसी गाउपालिकाबासीले अब देखि निशुल्क एम्बुलेन्स सेवा उपभोग गर्न पाउने भएको छ । यहि साउन १८ गते शुक्रबारबाट सञ्चालन हुने गरी गाउपालिकाले दुई वटा एम्बुलेन्स खरिद गरि गाउपालिका प्राङनमा ल्याइ पुर्याइएको छ ।
भन्सार छुट सहित ११÷११ लाख रुपैया लागतमा खरिद गरिएको एम्बुलेन्सको ड्राइभर खर्च, इन्धन खर्च सबै गाउपालिकाले बेहोर्ने पालिका अध्यक्ष गोविन्द बहादुर खड्काको भनाई छ ।
एम्बुलेन्स सेवाको सञ्चालनार्थ समिति बनाएर ब्यवस्थित बनाउने र समितिमा सहमति हुन नसके आफ्नो तलवी रकमले खर्च ब्यवस्थापन गरिने पालिका अध्यक्ष खड्काले बताए ।
गाउपालिका अध्यक्ष खड्काले आफुले पाउने तलवी रकम सुरुदेखिनै गाउपालिका भित्रका निम्न आय भएका जनताहरुलाई दामासायी हिसावले बाँड्दै आइरहेका छन् । जनताको पक्षमा निर्णय गर्दा कहिले काहि आफु एक्लैले प्रतिबाद गर्नु परेकोले केहि विवाद भएको जस्तो देखिएको उनले खुलासा पनि गरे ।
गाउपालिकाद्धारा दिईने अत्यवश्यक सेवाहरु जनतालाई निशुल्क प्रदान गर्ने चुनावी नारा बनाएर चुनाव जितेका अध्यक्ष खड्का पछिल्लो समयमा जनताको सेवामा समर्पित रहेको वडा नं. ३ का वडाध्यक्ष यमबहादुर महतको भनाई छ ।