वर्षातका कारण रामेछापको ग्रामिण क्षेत्रमा यातायात सेवा ठप्प

  • प्रकाशित मिति: मंगलबार, साउन १५ २०७५
  • तामाकोसी खबर

रामेछाप । साउन १५ गते,
रामेछापको उत्तरी क्षेत्रमा संचालन हुँदै आएका यातायात साधनहरु वर्षाको कारण अवरुद्ध भएका छन् । अविरल वर्षाले ठाउँठाउँमा सडक बिग्रिएपछि एक महिनादेखि यातायत अवरद्ध छ ।
रामेछाप १ नं क्षेत्रको उत्तरी भेग अन्तर्गतका गोकलगंगा र उमाकुण्ड गाउँपालिकाका विभिन्न सडकहरु वर्षाको काण विग्रिएका छन् । त्यस्तै निर्वाचन क्षेत्र नं अन्तर्गतका खाँडादेवी, दोरम्बा र सुनापति गाउँपालिकामा पर्ने कच्चि सडकहरुपनि बर्षाको कारण विग्रिएका छन् ।
सडक अवरुद्ध भएपछि ग्रामिण क्षेत्रमा चल्ने यातायात साधनहरु रोकिएका छन् । जोखिम बढ्दै गएपछि यातायात साधन गाउँमा पठाउन छाडिएको याताया व्यवसायी समितिहरुले जनाएका छन् । जोखिम मोलेर जाने कतिपय यातायात साधनहरु बाटोमा नै घण्टौँ अड्किने गरेका छन् ।
सडक अवरुद्ध भएपछि सदरमुकाम तथा राजधानी काठमाडौँ आउजाउ गर्ने मानिसहरुलाई समस्या परेको छ । यसको सबैभन्दा बढि मारमा बिरामीहरु परेका छन् । उपचारको लागि मन्थली र काठमाडौँ लैजानु पर्ने विरामीहरुलाई स्टेचरमा बोक्नु पर्ने अवस्था आएको छ ।
यसको साथै भूकम्पपछिको पुननिमार्णमा जुटेका स्थानीयलाई निर्माण सामाग्री जुटाउन समस्या परेको छ । सडक विग्रिएपछि निर्माण सामाग्रि बोक्ने यातायात साधन नचल्दा निर्माणकार्य समेत अवरुद्ध भएको छ ।